हुम्लाको लिमी उपत्यकामा भेटियो जङ्गली याक

हुम्लाको लिमी उपत्यकामा भेटियो जङ्गली याक

तस्वीर : चुङ्बा शेर्पा

काठमाडौँ :  वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन् । लिमी भ्याली नेपाल-तिब्बतको सीमा क्षेत्र हो, जुन निकै विकट छ।

यस्तै याकको तस्वीर सन् २०१४ मा नरेश कुसीको टिमले खिचेको थियो, जुन फोटोलाई पछि पाँच रुपैयाँको नोटमा अङ्कित गरिएको थियो। त्यसयता जङ्गली याकलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर कसैले पाएको थिएन।

८ वर्षपछि वाइल्डलाइफ फोटोग्राफर शेर्पा जङ्गली याकको तस्वीर खिच्न सफल भएका हुन्। सम्भवतः नेपालमा भेटिएको वाइल्ड याकको उत्कृष्ट तस्वीर यही नै हो।

अति दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत पुगेका शेर्पाले आफ्नो यात्रा सफल भएको बताए। ‘मेरो भाग्य भन्नुपर्छ, जङ्गली याकजस्तो अति दुर्लभ जनावरलाई फोटोमा कैद गर्न मैले धेरै कुर्नु परेन’, उनले भने।

तस्वीर चुङ्बा शेर्पा

लद्दाख र तिब्बतका केही क्षेत्रमा न्यून संख्यामा पाइने जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन)ले अति संवेदनशील सूचीमा राखेको छ। विभिन्न अध्ययन प्रतिवेदनले नेपालबाट जंगली याक लोप भइसकेको देखाएका छन्।

यसअघि शेर्पाले ‘घोस्ट अफ हिमालय’ भनेर चिनिने अति दुर्लभ हिउँ चितुवाको तस्वीर खिचेका थिए। तीन दशकभन्दा बढी समय पोट्रेट र ल्याण्डस्केप फोटोग्राफी गरेका ६२ वर्षे शेर्पा पाँच वर्षयता पूर्णतः वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय छन्।

 

 

प्रतिक्रिया