२१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयो

२१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयो

काठमाडौं  : करिब देशभरी आक्रामक रुपमा फैलिइरहेको डेंगुका बिरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरूको भनाइअनुसार डेंगु झन् कडा बन्दैगएको छ । पछिल्लो केही हप्तादेखि डेंगुका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्नेगरेको उहाँहरूको भनाइ छ । डेंगुका कारण अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक दुई सयको हाराहारीमा डेंगुका बिरामी मात्र अस्पताल आउनेगरेका सो अस्पतालले जनाएको छ । अस्पतालमा पुग्ने अधिकांश बिरामी गम्भीर स्वास्थ्य समस्या लिएर आउने अस्पतालका इमर्जेन्सीका प्रमुख लिलानाथ भण्डारीले बताए ।

उनका अनुसार डेंगुका बिरामीमा पहिलेको वर्षमा देखिएको डेंगुका लक्षणभन्दा यो वर्ष कडा खालका लक्षण देखिनेगरेका छन् । इमर्जेन्सीमा आउने बिरामीमा बेहोस हुने र रक्तस्राव हुनेजस्ता समस्या बढी देखिने भण्डारीले जानकारी दिए ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउनेगरेको बताए । पहिले नै डेंगु भैसकेका बिरामीलाई यो पटक डेंगु पुष्टि भएमा कडा खालका लक्षण देखिएको उनको भनाइ छ । बिरामीहरू सकेसम्म अस्पताल नजाने मनस्थितिमा देखिएकाले ढिला गरी अस्पताल जाँदा डेंगु कडा भइसक्ने उनले बताए ।

२१ हजारभन्दा बढीमा डेंगु

ईडिसिडिको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २१ हजार ३५२ जनामा डेंगु पुष्टि हुनुकासाथै २७ जनाको मृत्यु भइसकेको छ । यो सङ्क्रमण नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी हो । सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ । तर यो अभियान घर–घरमा संक्रमित हुनबाट जोगाउनु र वृद्धि विकासमा रोक लगाउनु उपयुक्त उपाए भए पनि व्यवहारमा लागु हुन नसकेको विज्ञको तर्क छ ।

यसअघि, सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । सोही समयमा ६५ जिल्लाबाट १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो । डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १६ हजार २३६ जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ७४३, प्रदेश १ मा ५८५, सुदूरपश्चिममा ७५८, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३०५ र कर्णाली प्रदेशमा २२९ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्ला अन्तर्गत सबैभन्दा बढी काठमाडौंमा ६ हजार ५५५, ललितपुरमा पाँच हजार २१८, मकवानपुरमा दुई हजार ११२, दाङमा एक हजार २१५, भक्तपुरमा ८८१, रुपन्देहीमा ७००, चितवनमा ५०६, धादिङमा ३९९, गुल्मीमा २९२, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी १८ हजार १७६ जनामा डेंगु पुष्टि भएको छ । ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिक महिनासम्म बढ्न सक्ने आँकलन गरेको छ ।

महामारी घोषणा गर्न प्रस्ताव

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि) का निर्देशक डा. चुमनलाल दासले महाशाखाले स्वास्थ्य मन्त्रालयमा डेंगु प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको जानकारी दिए । प्रस्ताव पठाए पनि मन्त्रालयबाट महामारी घोषणा गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय आई नसकेको उनले जानकारी दिए । पछिल्लो समय तीव्र गतिमा डेंगु सङ्क्रमण बढ्दैगएकाले डेंगु नियन्त्रण बाहिर जाने भन्दै स्वास्थ्य विज्ञहरूले डेंगुलाई महामारी घोषणा गर्न सुझाव दिंदै आएका छन् । सोही सुझाव अनुसार ईडिसिडिले मन्त्रालयमा प्रस्ताव पेस गरेको हो ।

ईडिसिडि निर्देशक डा. दासले लामखुट्टे नियन्त्रणमा सहजीकरण इडिसिडिले गरिसकेको र स्थानीय तहले नै नियन्त्रणको काम अगाडि बढाइसकेको बताए । उनले भने ‘ईडिसिडिको काम लामखुट्टे नियन्त्रण गर्न सहजीकरण गर्ने हो । आवश्यक बजेट पनि छुटाउनुका साथै सहजीकरण गर्दैआएको छ । स्थानीय तहले पनि लामखुट्टे नियन्त्रणको काम अगाडि बढाइसकेको छ ।’

प्रतिक्रिया