जागिरको मानसिकता त्यागेर सेवाको भावनाबाट काम गर्नुहास् : जिसस प्रमुख शाही

दैलेख : जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पशु सेवा प्राविधिकहरुले जागिर मानसिकता त्यागेर सेवाको भावनाबाट काम गर्न आग्रह गरेका छन् । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास निर्देशनालयले दैलेखमा आयोजना गरेको पशुपन्छी रोग नियन्त्रण गोष्ठीमा पशु सेवा प्राविधिकहरुलाई उनले सो सुझाव दिएका हुन् ।
जनशक्ति अभावमा स्थानीय तहले कृषि तथा पशुपन्छी विकासमा उल्लेख्य काम गर्न नसकेको औल्याउदै प्रमुख शाहीले भएकाका प्राविधिकहरुले इच्छाशक्तिका साथ काम गर्न सके मात्र कृषकहरुलाई व्यवसायिक बनाउन सकिने बताए ।
कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशकका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले रोगी पशुपन्छी देखिंदा तत्काल सूचना गरे मात्र पशुपन्छी रोग नियन्त्रण गर्न सहयोग पुग्ने बताए । पशुपन्छी विकास निर्देशनालयका पशु विकास विज्ञ डा. भृकुटी भट्टराईले सही समयमा सूचना पु¥याउने र रोगको निदान गर्न सके रोगी पशुपन्छी उपचार तथा रोग प्रकोप रोकथाम गर्न सहज हुने बताइन् ।
पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने रोगहरु, पशुहरुमा लाग्ने सरुवा रोगको उपचार तथा रोकथाम विधि बारे अभिमुखीकण गरिएको गोष्ठीमा दैलेखका ११ वटै स्थानीय तह र पशु सेवा कार्यालय दैलेखमा कार्यरत पशुसेवा प्राविधिकहरुको सहभागिता थियो । गोष्ठीको सहजीकरण कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास निर्देशनालयका अधिकृत कृष्ण बिक र पशु स्वास्थ्य प्राविधिक कमल बिश्वकर्माले गरेका थिए ।
प्रतिक्रिया