देउलीको बीचबजारमा बल्ल खुल्यो सडक

देउलीको बीचबजारमा बल्ल खुल्यो सडक

दैलेख : देउली बजार डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीको प्रमुख तथा पुरानो व्यापारिक केन्द्र हो । वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यामिक तहको विद्यालय लगाएतका सरकारी कार्यालयहरु यहि देउली बजार क्षेत्रमै छन् । यो बजारमा दहि जेरी, खजुरी र चिया जस्ता परिकारहरु प्रसिद्ध छन् । तर, देउली बजारको बीचमा सडक थिएन् । साँधुरो बाटो थियो । यहाँ लाग्ने मेला पर्व र जात्रा नियाल्न आउनेहरुको ठेलमठेल हुन्थ्यो । ओहोरदोहोर गर्न समस्या थियो ।

अब भने त्यो समस्या अन्त्य हुने भएको छ । यस अघि बजार क्षेत्रको पूर्वपट्टीबाट सडकको ट्रयाक खोलिएको थियो । अहिले बीच बजारमा सडक खनिएको हो । डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर विस्टले देउलीको बीच बजारमा सडक निर्माण गर्न एक लाख रुपैयाँ छुट्याईएको बताए । सोहि बजेटबाट सडक खनिएको वडाध्यक्ष विस्टले बताए ।

‘बजार क्षेत्र असाध्यै साँधुरो थियो, स्थानीय सबै घरधनिहरुलाई आग्रहपछि सहमती गराएर सडक बनाउन सफल भएका हौँ, सडक निर्माणमा सहयोग गर्न स्थानीय घरधनीहरुलाई वडाकार्यालयको तर्फबाट धन्यवाद,’ वडाध्यक्ष विस्टले भने । बीच बजारमा सडक निर्माण भएसँगै आवतजावतमा सहज हुने उनले बताए । ‘अहिले ट्रयाकमात्र खोलिएको छ, अब स्थानीय घरधनीहरुले सिमेन्ट योगदान गर्ने र वडा कार्यालयले बालुवा र गिट्टी व्यवस्थापन गरेर स्तरोन्नती गर्ने योजना अघि बढेको छ,’ वडाध्यक्ष विस्टले भने ।

प्रतिक्रिया