निरन्तरको वर्षाका कारण कर्णालीका हिमाली र पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण कर्णालीका हिमाली र पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

फाइल तस्बीर

सुर्खेत :  निरन्तर परेको वर्षासँगै पहिरो झरेपछि कर्णाली प्रदेशका विभिन्न पहाडी र हिमाली जिल्लाहरु जोड्ने राजमार्ग अवरुद्ध भएका छन् । निरन्तर वर्षाका कारण पहिरो खस्दा सुर्खेत–कोहलपुर जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको छिन्चु–सुब्बाकुना खण्डको पैसठ्ठीमा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

उनकाअनुसार पहिरोसँगै रुद्ध समेत सडकमा खस्दा अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास गरिएपनि पानी परिरहेकाले कठिनाइ भएको छ । यता, छिन्चु–जाजरकोट खण्डको जाजरकोटको शिवालय गाउँपालिका क्षेत्र, सुर्खेत खण्डको पोखरे र जुम्ली भीरमा पहिरो खस्दा सडक अवरुद्ध रहेको प्रवक्ता कार्कीले जनाए ।

यता, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहकाअनुसार कर्णाली राजमार्गको पाल्तडा र सुर्खेत–दैलेख सडक खण्डको घोडाबासमा पहिरो खसेको छ । पाल्तडामा सडक सुचारु गर्न डोजर परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठकाअनुसार जाजरकोट–डोल्पा, दाङ–सल्यान लोकमार्ग पनि अवरुद्ध रहेको छ ।

प्रतिक्रिया