टिकट नपाएपछि शाहीले छाडे एमाले

टिकट नपाएपछि शाहीले छाडे एमाले

सुर्खेत :  प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी छाडेका छन् ।

एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिव उनले दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का लागि नाम सिफारिस भएर पनि टिकट नपाएपछि पार्टी त्यागेका हुन्। एमालेको कर्णाली प्रदेश कमिटी सदस्य शाहीले विज्ञप्ति जारी गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनको स्थानमा दैलेख प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं.–२ (ख) का लागि प्रतिनिधि सभाका लागि सिफारिसमा परेका एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले टिकट पाएका छन्।

शाहीले विज्ञप्तिमा लेखेका छन्,‘एमालेले गर्ने एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा क. भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रहजस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो।  यस्तै विविध कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु।’

प्रदेश योजना आयोग कर्णाली प्रदेशका पूर्वसदस्यसमेत रहेका शाही दैलेखको एमाले राजनीतिमा बौद्धिक नेताका रूपमा चिनिएका छन्।

प्रतिक्रिया