कालिकोटको राँचुलीमा पहिरो, मलामी गएका १३ जनाको मृत्यु

कालिकोटको राँचुलीमा पहिरो, मलामी गएका १३ जनाको मृत्यु

कालिकोट :  कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आइतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो ।

दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना वेपत्ता भएको पुष्टी भएको छ । शाहीका अनुसार उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए । उपमेयर शाहीका अनुसार मलामी गएका वडा नम्बर ४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएका छन् । स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए ।

घाटमा पुगेकामध्ये १३ जनालाई पहिरोले पुरेको अन्य मलामीको भनाइ उद्धृत गर्दै उपमेयर शाहीले १३ जनाको मृत्यु भइसकेको पुष्टी गरे । शाहीले भने, ‘घाटमा लाश जलाउने क्रममा राँचुली गाउँमा आएको पहिरोले १३ जनाको मृत्यु भएको पुष्टि जस्तै भइसकेको छ । उनीहरु पहिरोमा परेका मलामी गएका अन्यले देखेका छन् । अब उनीहरुलाई जिवित भेट्ने सम्भावना छैन ।’

 गाउँ खाली गराइयो

राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको उपमेयर शाहीले बताए । अझै ठूलो पहिरोको जोखिम बढेको कारण राँचुली गाउँ खाली गराएर २०४ घरका बासिन्दालाई स्थानीय कालिका माविको प्राङ्गणमा सेल्टर दिएर राखिएको छ । अहिले त्यहाँ उद्धारको काम भइरहेको उपमेयर शाहीले बताए ।

प्रतिक्रिया