कर्णालीमा सडक सम्पर्क विच्छेद

कर्णालीमा सडक सम्पर्क विच्छेद

सुर्खेत : बडा दशैंको दिनबाट परेको अबिरल बर्षातले कर्णालीमा सडक सम्पर्क विच्छेद भएको छ । बर्षातका कारण प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट विभिन्न जिल्ला जोड्ने मुख्य सडकहरु अबरुद्ध हुन पुगेको छ । सुर्खेतबाट दैलेखहुँदै साविकको कर्णाली जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अबरोध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सुबराज बमले राजमार्गको कालिकोट खण्ड पूर्ण रुपमा बन्द रहेको बताए । कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डमा मात्रै १२ भन्दा बढि स्थानमा पहिरो गएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

‘कर्णाली राजमार्गस्थित सेरी घाट पुल नजिकै छेडाघाटस्थित राजमार्गलाई तिला नदिको बहाबले १५ मिटर सडक बगाएको छ, त्यहाँ चट्टानका कारण तत्कालै नयाँ सडक निर्माण गर्न सकिने अवस्था छैन्, अन्य ठाउँहरुमा पनि कतै पहिरो खसेको छ भने कतिपय ठाउँमा सडक भाँसिएको छ, हामीले केहि स्थानमा पहिरो हटाउने प्रयास गरेका थियौँ तर बर्षात भईरहेकाले सकेका छैनौँ,’ उनले भने । कर्णाली करिडोरमा समेत यातायात आवागमन ठप्प रहेको उनले बताए ।

कर्णाली राजमार्ग अन्तरगर्तकै दैलेख खण्डको दरबारे भीर, सांगेतडा, बोटखोला लगाएतका स्थानमा पहिरो खसेका कारण राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यता निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी राजमार्गको दैलेख खण्ड पनि अबरुद्ध छ । ठाउँ ठाउँमा पहिरो गएका कारण यातायातका साधन सञ्चालनमा आउने सकेको छैन् । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–१ राङ्चे खोला स्थित मध्यपहाडी राजमार्गमा खसेको पहिरोका कारण सडक पूर्ण रुपमा बन्द भएको छ ।

दैलेख सुर्खेत सडक खण्ड पनि ध्वस्त छ । सोमवार रातीसम्मपनि यात्रुहरु बीच बाटोमा अलपत्र परिरहेका थिए । लगातारको बर्षातका कारण सडक अबरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको नारायण नगरपालिकाका विजय शर्माले बताए । दैलेख सुर्खेत सडक खण्डमा ५० भन्दा बढी ठाउँमा पहिरो र ढुङ्गा लडिरहेको र १५ भन्दा बढी ठाउँमा सडक भासिएको दैलेखका चेतन गिरीले बताए । ‘निकै चुनौतीपूर्ण यात्रा छ, आइतवार रातीदेखि यात्रु बाटोमा अलपत्र छन्, बाटोको गुणस्तर कमजोर हुँदा जति पटक बाटो मर्मत गरेपनी बाटोको सुधार हुने देखिदैन्, झन कर्णालीको अन्य जिल्लाको हालत के होला ? उनले भने ।’

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले दैलेख सुर्खेत सडक खण्ड मंगलवारदेखि सञ्चालनमा ल्याईएको बताए । ‘दैलेख सुर्खेत सडक खण्डको चुप्रा क्षेत्र, मटेला क्षेत्र, माथिल्लो डुङ्गेश्वर, जिरो पोइन्ट, घोडाबास तथा डबल गैरा क्षेत्रमा कतै पहिरो गएको थियो, कतै सडक भाँसिएको थियो, पाँच देखि १० मिटरसम्म सडक भाँसिएको थियो,’ डिएसपी साहले भने ‘आज विहानबाट सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन सफल छौँ ।’

यस्तै मुगुको छाँयानाथ रारा नगरपालिका–१ बसपार्क देखि तुम गाउँ, ताल्चा विमानस्थल, रैसेडी, पिना, सात मोडसम्म नाग्म, मुगु सडक खण्डमा बिभिन्न स्थानमा पहिरो आई सडक अवरुद्ध भएको बताईएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि कोहलपुरजोड्ने रत्नराजमार्गमा पनि विभिन्न स्थानमा पहिरो खसेका कारण निर्वाध रुपमा सवारी आवागमन सञ्चालन हुन सकेको छैन् । कर्णालीमा मुख्यसडकसँगै स्थानीय तह जोड्ने सहायक सडकहरु पनि अबरुद्ध छन् ।

प्रतिक्रिया