पूर्वसहकर्मीबीच प्रतिस्पर्धा

पूर्वसहकर्मीबीच प्रतिस्पर्धा

दैलेख : आगामी मंसिर ४ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । त्यसका लागि दलहरुले आइतवार उम्मेदवारी दर्ता गराएका छन् । दैलेखमा प्रतिनीधि सभा र प्रदेश सभामा एउटै दलमा सँगसँगै काम गरेका केहि पुराना र केहि नयाँ अनुहारको उम्मेदवारी परेको छ । खासगरी सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धामा केहि नयाँ अनुहारहरु देखिएका छन् भने केहि पुरानै अनुहारहरु दोहोरिएका छन् । ती प्रतिस्पर्धाीहरु केहि समयअघिसम्म एउटै पार्टीमा सहकार्य गरेका नेताहरु छन् ।

प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ दैलेखमा नेकपा एमालेका रविन्द्रराज शर्मा र नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापाबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई लामो समय एउटै पार्टी सहकार्य गरेका नेता हुन् । २०७४ को निर्वाचनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपा विभाजन हुनुअघि यी दुई नेता एउटै पार्टीमा रहेका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूँताइदियो । लगत्तै एमाले पनि फुटेर नेकपा एकिकृत समाजवादी गठन भयो ।

अहिले प्रतिनीधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका अम्मरबहादुर थापाले एकिकृत समाजवादी रोजे । उनि एकिकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष समेत हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साथ छ । यो क्षेत्र सत्ता गठबन्धनमा नेकपा एकिकृत समाजवादीको भागमा परेको थियो ।

एमालेबाट प्रतिनीधि सभाका लागि उम्मेदवारी दिएका रविन्द्रराज शर्मा निवर्तमान सांसद हुन् । एमाले दैलेख जिल्ला अध्यक्ष समेत रहेका शर्मालाई आफ्नै साख जोगाउने चुनौती छ । यसरी हेर्दा लामो समय एउटै पार्टीमा रहेका यी दुई नेताको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यस्तै प्रतिनीधि निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) मा पनि एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताबीच प्रतिस्पर्धा हुने भएको छ । यो प्रदेश सभामा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह र नेकपा माओवादी केन्द्रका योगेन्द्रबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई नेता उम्मेदवारी दर्ता गराउनुको अघिल्लो दिनसम्म एउटै पार्टी अर्थात नेकपा एमालेमै थिए । एमालेबाट यो प्रदेश सभामा शाहले टिकट पाए भने एमालेमा टिकट नपाएपछि शाहीले नेकपा माओवादी केन्द्रबाट टिकट हात पारे । एमालेले आफूलाई टिकट नदिएपछि शाहीले दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गराएका छन् । यो क्षेत्र सत्ता गठबन्धनमा नेकपा माओवादीको भागमा परेको थियो । उम्मेदवारी दर्ता गराउनुको अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका यी दुई नेताबीचको प्रतिस्पर्धा पनि रोचक देखिएको छ ।

प्रतिक्रिया