दिगो लोकतन्त्र र राष्ट्रिय समृद्धिका लागि दैलेखले ठोस योगदान दिने बेला आएको छ : राना

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानाले दिगो लोकतन्त्र र राष्ट्रिय समृद्धिका लागि दैलेखले ठोस योगदान दिने बेला आएको बताएकी छन् । प्रतिनीधि सभा समानुपातिक उम्मेदवार रहेकी रानाले एक अपिल जारी गर्दै यस्तो बताएकी हुन् ।
उनले यतिबेला मुलुकका सामु युगान्तकारी परिवर्तनलाई संस्थागत गर्दै विकास र समुन्नतिको सार्थक बाटो पहिल्याउने महान अवसर उभिएको समेत बताएकी छन् । आगामी मंसिर ४ को आम निर्वाचनले त्यो अवसरलाई बोकेर ल्याएको उनको भनाई छ ।
मुलुकमा सबैखाले अतिवाद र अवसरवादलाई परास्त गर्दै दिगो लोकतन्त्र बलियो राष्ट्रियता र राष्ट्रिय समृद्धिका लागि दैलेख जिल्लाले पनि ठोस योगदान गर्ने बेला आएको रानाको भनाई छ । उनले मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको दुई वटा संघिय निर्वाचन क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्रबाट वर्तमान सत्तारूढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिइ विजयी गराउन अपिल समेत गरेकी छन् ।
‘प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ दैलेख जिल्लाबाट नेपाली कांग्रेसले मलाई जनजाति महिला अन्तरगत उम्मेदवार चयन गरेको व्यहोरा समेत यहाँहरु समक्ष सहर्ष जानकारी गराउन चाहान्छु, यहाँहरुको अपार स्नेह र समर्थन तथा नेपाली कांग्रेसका सबै तहका विभिन्न समितिहरुको सिफारिस र समर्थनको कारण मैले यो अवसर प्राप्त गरेको छु, यहाँहरु सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दछु, मलाई यस अवसरका लागि छनोट गर्ने पार्टी केन्द्रीय नेतृत्व पंत्तिप्रति कृतज्ञता व्यक्त गर्दछु,’ उनले अपिलमा उल्लेख गरेकी छन् ।
उनले प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरि नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउँदै आफ्नो उम्मेदवारीलाई समेत अनुमोदन गराइदिन समेत अपिल गरेकी छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको ५३ औँ नम्बरमा उनलाई राखिएको छ । आदीबासी जनजाती महिलातर्फ भने उनको नाम तेस्रो नम्बरमा छ । राना काँग्रेस केन्द्रीय सदस्य हुन् ।
प्रतिक्रिया