कर्णालीमा बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाए, २२ अझै बेपत्ता

कर्णालीमा बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाए, २२ अझै बेपत्ता

सुर्खेत :  कर्णालीमा लगातार एक सातासम्म भएको वर्षाका कारण बाढीपहिरोमा परी ३३ जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोका कारण २१ जना घाइते भएका छन् भने २२ जना बेपत्ता भएका छन् ।

यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरोको कारण चार सय ८० घरमा क्षति भएर विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार प्रदेशभर दुई हजार आठ सय ८३ जना विस्थापित भएका छन् ।

मृत्यु हुनेमा मुगुका मात्रै आठ जना छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–११ तलि सालिमका घर माथिबाट आएको पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरोमा परेर सात घाइते भएका छन् । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–११ का ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हुम्लामा चार जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–६ मा पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिए । मृत्यु हुनेमा ५७ वर्षकी तुलसा, नौ वर्षकी सुष्मिता , सात वर्षकी हुइजाली र पाँच वर्षका वसन्त विक छन् । यस्तै जुम्लामा ९, डोल्पामा दुई दैलेखमा एक र सल्यानमा दुई जनाको बाढीपहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

बाढी पहिरोको सबैभन्दा ठूलो असर कालिकोटमा परेको छ । कालिकोटमा बाढीको कारण चार जनाको मृत्यु भएको छ भने एक प्रहरी जवानसहित २० जना बेपत्ता भएको विवरण छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरूमाथि तिलाकर्णाली नदीमा शव जलाउने क्रममा पहिरो खसेको जनाइएको छ ।

पहिरोमा पुरिएर तिलागुफा –४ का नवनिर्वाचित वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरामा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो । बेपत्ता हुनेमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजङ्ग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् ।

यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरामा पुरिएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूको खोजी र घाइतेको उद्धार चलिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया