वर्षापछि बाढी र पहिरो : दैलेखमा कहाँ कति क्षती ?

वर्षापछि बाढी र पहिरो : दैलेखमा कहाँ कति क्षती ?

कर्णाली राजमार्गमा खसेको पहिरो र राजमार्ग अनुगमनमा पुगेका प्रहरी जिल्ला अधिकारीसहितको टोली ।

दैलेख : बडादशैंको दिनदेखि लगातार परेको बर्षातले देशभर ठूलो धनजनको क्षती भयो । अधिकाँश सडकहरु क्षती भएका छन् । कर्णालीका अधिकाँश सडकहरु अहिले पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन् । बर्षातसँगैको पहिरोका कारण दैलेख सुर्खेत सडक खण्ड केहिदिन बन्द हुन पुग्यो । मंगलवारदेखि भने उक्त सडक सञ्चालनमा आएको छ । यद्धपी बर्षातका कारण सडक भाँसिदा जोखिम कायमै छ भने दैलेख सुर्खेत सडक खण्डका अधिकाँश ठाउँमा क्षती पुगेको छ ।

यस्तै कर्णाली राजमार्ग पनि बन्द छ । राजमार्गमा खसेको पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल भईरहेको छ । ज्वाला सन्देश अनलाइनलाई असोज १९ गतेदेखि २४ गतेसमम्म परेको अबिरल बर्षातका कारण दैलेखमा भएको क्षतीको विवरण प्राप्त भएको छ । यहाँ दैलेखका विभिन्न स्थानीय तहमा बर्षातसँगै बाढी र पहिरोका कारण क्षती भएको विवरण उल्लेख गरिएको छ ।

प्राप्त विवरण अनुसार गुराँस गाउँपालिका–८ का चन्दबहादुर खत्रीको दुई तले घरमा आंशिक क्षती भएको छ । मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यस्तै नारायण नगरपालिका–७ जार्ज खोलाका मोहन बुढाको कच्ची घर भत्किएको छ । घर भत्किदाँ पुरिएका पशु चौपायालाई जिवितै उद्धार गरिएको छ ।

दुल्लु नगरपालिका–२ भलायकाटेका जीतबहादुर विकको दुई तले कच्ची घरमा रुखले च्यापिएको तथा मानविय क्षती भने नभएको बताईएको छ । प्रहरीको तथ्यांक अनुसार दुल्लु नगरपालिका–५ बन टोलका शेर बहादुर वनको छोरी १७ वर्षीया बालिका निर्मला बन चट्यांकको झट्का लाग्दा सामान्य घाइते भएकी छन् ।

यसैबिच दुल्लु नगरपालिका–८ गडी बस्ने निर्मल विको घर भत्किएको तर, मानविय क्षती नभएको प्रहरीको तथ्यांकमा उल्लेख छ । भैरबी गाउँपालिका–२ रावतकोटमा बर्षातका कारण गोठ भत्किएको छ । मानविय र पशु चौपायाम क्षती नभएपनि गोठ पूर्ण रुपमा क्षती भएको छ ।
प्रहरीकै तथ्यांक अनुसार गुराँस गाउँपालिका–१ काफलतोलीका गगनबहादुर महतको घर पहिरोका कारण जोखिममा परेको छ । उक्त घर परिवार छिमेकीको शरणमा बसिरहेका छन् । दुल्लु नगरपालिका–१० का बीरबहादुर शाहीको दुई तले घर अबिरल बर्षातका कारण भत्किदाँ पाँच जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् ।

नारायण नगरपालिका–१ स्थित जनता प्राविको पर्खालसँगै जोडिएको भेषबहादुर थापाको टिनले छाएको तीन तले घर भत्किएको, पर्खाल भत्किदाँ दुई तले घर जोखिममा परेको छ । भैरबी गाउँपालिका–२ रावतकोटकै कमल थापाको एक तले कच्ची गोठ भत्किएको छ ।

नारायण नगरपालिका–१ मुल धारा बस्ने नबराज थापाको घर पछाडी पहिरो खस्दा जोखिममा परेको छ । डुंगेश्वर गाउँपालिका–२ का टेकबहादुर कामीको घर भत्किएको छ । मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । यस्तै असोज २३ गते दुल्लु नगरपालिका–१ अन्तरगर्त पर्ने २८ घर र गुराँस गाउँपालिका–१ मा पर्ने ३३ वटा घर कर्णाली नदि र लोहोरे खोलामा पानीको बहाव बढि भई घरभित्र पानी पसी डुबानमा परेको थियो । डुबानका कारण विस्थापितहरु अहिले आफ्नै घरमा फर्किइसकेका छन् ।

आठबीस नगरपालिका–१ रामघाट बजारको बस्तीमा रामाघाट खोलाको पानी बस्तीमा पस्दा २० वटा घर डुबानमा परेको थियो । हाल उनिहरु पनि आफ्नै घरमा बसोबास गर्न थालेका छन् । यद्धपी यहाँ जोखिम भने कायमै छ । असोज २४ गते गुराँस गाउँपालिका–२ स्थित शिवा कुमार खड्काको घर भत्किएको छ । बर्षातका कारण घर पूर्ण रुपमा क्षती भएको र परिवारलाई सुरक्षित स्थानमा राखिएको छ ।

दुल्लु नगरपालिका–१ का शेरबहादुर विकको घरमा बर्षातका कारण आंशिक रुपमा क्षती पुगेको छ । बर्षातका कारण्ण श्रीस्थानस्थित काल ज्वाला मन्दिर पूर्ण रुपमा क्षती भएको छ । प्रहरीको तथ्यांक अनुसार चामुण्डाविन्द्रासैनी नगरपालिका–८ का ३२ वर्षीय पुरुषलाई चिने खोलाले बगाउँदा बेपत्ता भएको र गुराँस गाउँपालिका–२ मा होटलमा बस्दै आएका ५० वर्षीय पुरुष पनि बेपत्ता छन् । मंगलवारसम्म प्रहरीले उनिहरुको खोजी गरिरहेको थियो ।

यस्तै डुंगेश्वर गाउँपालिका–५का दिपक गौतमलाई असोज २२ पाङकोट खोलाले बगाएको थियो । उनी सोहि खोलामा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया