गठबन्धनका बागी चक्रलाल सुनारसहित तीन जनाले लिए उम्मेदवारी फिर्ता

गठबन्धनका बागी चक्रलाल सुनारसहित तीन जनाले लिए उम्मेदवारी फिर्ता

दैलेख : दैलेखमा गठबन्धनका बागी उम्मेदवारसहित तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ ‘क’ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका चक्रलाल सुनारले उम्मेदवारी फिर्ता लिएका हुन् । उनि नेकपा माओवादी केन्द्रका नेता हुन् । सत्तारुढ गठबन्धनबीचको भागबण्डा अनुसार यो प्रदेश सभा नेपाली काँग्रेसको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सुनारले गठबन्धनको मर्म अनुसार आफ्नो उम्मेदवारी फिर्ता लिएको बताईएको छ ।

यस्तै प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ ‘ख’ प्रदेश सभामा राजेशकुमार शाहीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । सुनारले नेपाली काँग्रेसबाट क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार घनश्याम भण्डारी र राजेशकुमार शाहीले क्षेत्र नं. २ ‘ख’ प्रदेशसभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई समर्थन गरी फिर्ता लिएको बताए । दैलेख क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशबहादुर शाहीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनीधि सभाका लागि दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभाका समेत दैलेखमा असोज २३ गते परेका ३६ मध्ये तीन जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अब ३३ जनाको उम्मेदवारी कायम रहेको छ ।

उम्मेदवारी कायम रहेका ३३ मध्ये पाँच जना स्वतन्त्र उम्मेदवारले बुधवार नै चुनाव चिन्ह रोजेका छन् । दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल नेपालीले खरायो चुनाव चिन्ह रोजेका छन् । यही क्षेत्रमा सोही पदका अर्का उम्मेदवार निरकबहादुर थापाले माछा चुनाव चिन्ह रोजेका छन् ।

यस्तैगरी अरु तीन जना स्वतन्त्र उम्मेदवारहरु दैलेख क्षेत्र नं. १ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार चित्रबहादुर खत्रीले पानीको धारा, क्षेत्र नं. १ ‘ख’ प्रदेशसभा सदस्य उम्मेदवार टेकबहादुर खाँणले ढेकी र क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार पुरुषोत्तम रिजालले बिजुलीको बल्ब रोजेका छन् ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश बलराम लम्सालले दिएको जानकारी अनुसार स्वतन्त्र पाँच जनाले आफूले चाहेको चुनाव चिन्ह रोजेका र अरु २८ जना उम्मेदवारलाई सम्वन्धित दलको चुनावी चिन्ह प्रदान गरिएको छ ।

एमालेको सूर्य, काँग्रेसलाई रुख, एकीकृत समाजवादीका उम्मेदवारलाई कलम, राप्रपाका उम्मेदवारलाई हलो, नेमकिपाका उम्मेदवारले मादल, राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी र नेपाली काँग्रेस (वीपी)का उम्मेदवारले पार्टीले पहिले नै रोजेको करुवा चुनाव चिन्ह पाएका छन् ।
एमाले नेता गोपाल नेपालीले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टीका आधिकारिक उम्मेदवार एमाले जिल्ला अध्यक्ष एवं निवर्तमान सांसद रबीन्द्रराज शर्मा र एमालेकै अर्काका नेता चित्रबहादुर खत्रीले एमालेका क्षेत्र नं. १ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज रेग्मीको मत काट्ने देखिन्छ ।

उता काँग्रेस समर्थक निरकबहादुर थापाले दैलेख क्षेत्र नं. १ मा प्रतिनीधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका अम्मरबहादुर थापाको मत प्रभावित गर्ने देखिन्छ । यस्तै पुरुषोत्तम रिजाल क्षेत्र नं. २ ‘क’ मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका घनश्याम भण्डारीको मत प्रभावित गर्न सक्ने आंकलन गरिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेकबहादुर खाँणले क्षेत्र नं. १ ‘ख’ प्रदेशसभा सदस्य उम्मेदवार पदमा एमालेसंग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कृष्णकुमार बिसीको मत प्रभावित गर्ने देखिएको छ ।

प्रतिक्रिया