भगवतीमाई गाउँपालिकामा दुई वटा परियोजना कार्यान्वयनमा
दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकामा दुई वटा परियोजना कार्यान्वयनमा ल्याईएको छ । वल्र्डभिजन इन्टरनेसनल नेपाल र सोसेक नेपालको साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । बाल संरक्षण बाल स्पोनसरसिप कार्यक्रम र समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना सञ्चालनमा आएको हो । बालबालिकाहरु माया र संरक्षण पाई सुरक्षित र शसक्तीकरण भएको हुने परियोजनाले लक्ष्य लिएको छ ।
बालबालिका तथा सेवा प्रदायकहरुले बालसंरक्षण्का सवालहरुको बारेमा जानकारी प्राप्त गरी त्यसको सामना गर्नको लागि उत्थानसिल भएका हुने, बाल संरक्षण सम्बन्धी सेवा तथा प्रणलीलाई क्रियासिल बनाउने र स्थानीय धार्मीक अगुवा, शिक्षक सहितको सहभागीतामा बालबालिकाहरुको लागि संरक्षित वातावरण निमाणको लागि टेवा पुर्याउने परियोजनाको उदेश्य लिएको छ ।
बिहीवार गाउँपालिकामा सोसेक नेपालद्धारा आयोजित गाउँपालिका स्तरिय परियोजना परिचायात्मक बैठकमा परियोजना सञ्चालनबारे जानकारी दिईएको छ । सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले यी दुई वटा परियोजना भगवतीमाई गाउँपालिकाको वडा नम्बर २,३,४,५ र ६ मा लागु हुने जानकारी दिए । सन २०२३ सेप्टेम्बरसम्म बाल संरक्षण बाल स्पोनसरसिप कार्यक्रमतर्फ ७५ लाख ९५ हजार ७ सय २३ र समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनातर्फ ६७ लाख ४७ हजार ७ सय गरी एक करोड ४३ लाख ४२ हजार ४ सय ३२ रुपैयाँ बजेट खर्च गरिने कार्यकारी प्रमुख थापाले बताए ।
परियोजना अन्तरगर्त विभिन्न २४ वटा क्रियाकलाप सञ्चालन हुनेछन् । कार्यकारी प्रमुख थापाका अनुसार बाल संरक्षण बाल स्पोनसरसिप कार्यक्रमतर्फ दर्ता बालबालिकाहरु अर्थपुर्ण सहभागितामा बालबालिकाहरुको बालबालिका अभिव्यक्ती कार्य तालिका कार्यक्रमको आयोजना, स्पोन्सरसिप पद्धती, बालबालिका छनौट प्रकृयामा अति संकटासन्न बालबालिकामा केन्द्रित भएर समुदायमा संरचना गठन तथा अभिमुखीकरण गर्ने, स्पोनसरसिप बालबालिकालाई महत्वपूर्ण र आपतकालीन आवश्यकताहरुलाई सम्बोधन गर्न सहयोग गर्ने लगायतका क्रियाकलाप सञ्चालन हुनेछ ।
सोसेक नेपालका कार्यकारी प्रमुख थापाका अनुसार आधारभुत तहमा समावेशी तथा गुणस्तरीय शिक्षाका लागि जोखिममा रहेका बालबालिकाहरुको समतामुलक पहुँचमा सुधार ल्याउने लक्ष्यसहित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना सञ्चालन हुनेछ । यो परियोजना अन्तरगर्त विभिन्न १३ वटा क्रियाकलापहरु सञ्चालन गर्ने लक्ष्य लिईएको छ ।
गाउँपालिकामा आयोजित परियोजना परिचायात्मक बैठकमा गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले परियोजना सञ्चालनका लागि भगवतीमाई गाउँपालिकालाई छनौट गरेकोमा खुसी व्यक्त गर्दै परियोजना सञ्चालनका लागि शुभकामना व्यक्त गरे । उनले परियोजनाका गतिविधिमा गाउँपालिका साझेदारी र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
परियोजनाले बालबालिका र शिक्षाको क्षेत्रमा गर्ने कामले गाउँपालिकाले लिएको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने बताए । ‘गाउँपालिकाबाट नमूना कक्षा बनाउने कार्यक्रमलाई अघि सारेका छौँ, गाउँपालिकाबाट तय भएका कार्यक्रमहरुलाई पनि परियोजनासँग साझेदारी र सहकार्य गरेर कार्यान्वयन गछौँ,’ अध्यक्ष थापाले भने ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्का, कार्यपालिकाका सदस्यहरु तथा गाउँपालिकास्थित विभिन्न शाखामा कार्यरत कर्मचारीहरु सहभागि थिए ।
प्रतिक्रिया