डा. रविन खड्का ‘पोलियो उन्मूलन हिरो’

डा. रविन खड्का  ‘पोलियो उन्मूलन हिरो’

सुर्खेत : कर्णालीमा पोलियो रोग उन्मूलनमा महत्वपूर्ण योगदान गर्ने दुई जनालाई सम्मान गरिएको छ।पोलियो रोग उन्मूलनका लागि जनचेतना फैलाएको र प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का र जिल्ला स्वास्थ्य सेवा कार्यालयका सेवानिवृत्त खोप सुपरभाइजर जीतलाल ढकाललाई कर्णालीका पोलियो उन्मूलन हिरोका रूपमा सम्मान गरिएको छ। विश्व पोलियो दिवसको अवसर पारेर बिहीबार डा. खड्का र ढकाललाई कर्णालीमा पोलियो उन्मूलनका हिरोका रूपमा सम्मान गरिएको हो।

नेपालमा पोलियो नियन्त्रण र निवारण सुरु गरेदेखि नै कर्णालीका विभिन्न जिल्लामा पोलियो उन्मूलनमा महत्वपूर्ण काम गरेका जीतलाल ढकाल र कर्णालीका आठवटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला बनाएर पोलियो उन्मूलनमा उल्लेख्य योगदान दिएका स्वास्थ्य निर्देशक डा. खड्कालाई हिरोका रूपमा सम्मान गरिएको हो।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विभिन्न स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूले उनीहरूलाई एक समारोहकाबीच दोसल्ला र सम्मानपत्रले सम्मान गरे। वीरेन्द्रनगर नगरपालिका-७ का वडाध्यक्ष ध्रुवकुमार चपाईंले उनीहरूलाई सम्मान गरेका थिए। सो अवसरमा वडाअध्यक्ष चपाईले सबैको योगदानले कर्णालीमा पोलियो उन्मूलनमा सहयोग पुगेको बताउँदै सम्मानित भएका डा. खड्का र ढकाललाई बधाई दिए।

सामाजिक विकास मन्त्रालयका लक्ष्मीनारायण तिवारी र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पोलियो उन्मूलन भए पनि नेपालका सीमा नाकाका जिल्लाहरूमा जोखिम कायमै रहेको बताए।

उनीहरूले पोलियो उन्मूलनका कार्यक्रमहरू प्रभावकारी भएको भन्दै उन्मूलनको गतिलाई कायमै राख्न सुझाव दिए। पोलियो उन्मूलनका कर्णाली हिरो घोषित डा. खड्का र ढकालले सबैको सहयोगले पोलियो उन्मूलनमा  योगदान पुगेको बताए।

उनीहरूले पोलियो नियन्त्रण र उन्मुलनमा आफूहरूले गरेको कामको अनुभव सुनाउँदै अहिले पोलियो उन्मूलन भएकामा खुसी व्यक्त गरे। विश्व स्वास्थ्य संगठनका डा. पासाङ राईले सने २०१० देखि नेपालमा पोलियोका बिरामीहरू देखा नपरेको बताए।  उनले पोलियो रोग विशेषगरी १५ वर्षमुनिका बालबालिकाहरूमा लाग्ने हुँदा नेपालमा धेरैजसो भारतबाट आउनेहरूबाट यो रोग सर्न पुगेको जानकारी दिए।

प्रतिक्रिया