हुम्लामा सुत्केरी महिलाको मृत्यु

हुम्लामा सुत्केरी महिलाको मृत्यु

हुम्ला : हुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँका किसान शाहीकी श्रीमती रङ्गिता शाही रहेकी छन् । यद्यपि जन्मिएको शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको सोही वडाका वडाध्यक्ष कमल बहादुर छत्यालले बताए ।

सोमबार बिहानै सुत्केरी बेथा लागेर दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनको लामो समयसम्म साल नझरेको र रक्तश्राव भइरहेको थियो । ‘गाउँ नजिकै स्वास्थ्य चौकी नभएकाले उनले उपचार पाइनन्,’ वडाध्यक्ष छत्यालले भने, ‘मंगलवार बिहान उज्यालो होला र स्टेचरमा बोकेर स्वास्थ्य चौकी लैजाउँला भन्दा भन्दै उनको मृत्यु भएको सुन्नामा आएको छ ।’

छत्यालका अनुसार रङ्गिताको घरदेखि स्वास्थ्य संस्थामा पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ । त्यो पनि डाँडाकाँडाहरु छिचोलेर स्टेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ । रङ्गिताको यसअघि पनि ३ बर्षकी छोरी रहेको उनले बताए ।

‘यहाँको चलनमा सामान्यतया अस्पताल गएर सुत्केरी गराउने छैन्,’ उनले भने, ‘बिरामी भएको लामो समयसम्म पनि आवाश्यक हेरचाहा नभएकाले उनको मृत्यु भएको हुनसक्छ ।’ उनका अनुसार सोही ठाउँमा अघिल्लो बर्ष पनि एक महिलाको समयमै उपचार हुन् नसक्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया