दैलेखमा नमूना मतदान

दैलेख : आसन्न प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तरगर्त दैलेखमा नमूना मतदान गरिएको छ । मंगलवार जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको कार्यालय डाँडापराजुलमा नमूना मतदान गरिएको हो । डुङ्गेश्वर गाउँपालिकाबाट मतदाता शिक्षा कार्यक्रम अन्तरगर्त नमूना मतदानको अभ्यास सुरुवात गरिएको हो । जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदानको अभ्यास थालेको हो ।
मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नमूना मतदानको अभ्यास थालिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् । ‘हामीले मंगलवारदेखि डुङ्गेश्वर गाउँपालिकाबाट नमूना मतदानको कार्यक्रम थालनी गरेका छौँ,’ निर्वाचन अधिकारी काउचाले भनिन् ‘दैलेखको सात गाउँपालिका र चार नगरपालिकासहित ११ वटै स्थानीय तहहरुमा नमूना मतदानको कार्यक्रम सञ्चालन गर्छौ ।’
नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।
जिल्ला निर्वाचन अधिकारी काउचाका अनुसार कात्तिक १८ गतेदेखि मतदाता शिक्षा स्वंयमसेवक परिचालन गरिँदैछ । मतदाता शिक्षाका लागि घरदैलो प्रशिक्षण कार्यक्रम कात्तिक १८ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी काउचाले जानकारी दिइन् ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहहरुका लागि मतदाता शिक्षा अनुगमन अधिकृत तोकिसकेको छ । मतदाता शिक्षा अनुगमन अधिकृतले मतदाता शिक्षा कार्यक्रमको स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनको मान्यता अनुसार नियमित अनुगमन गरी निर्वाचन अधिकारीलाई प्रतिवेदन पेश गर्नेछन् ।
प्रतिक्रिया