बाल विवाह महिला हिंसाको सुरुवाती बिन्दु : उपमेयर शर्मा

बाल विवाह महिला हिंसाको सुरुवाती बिन्दु : उपमेयर शर्मा

दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपमेयर मनसरा कुमारी शर्माले बालविवाह महिला हिंसाको सुरुवात बिन्दु भएको बताएकी छिन् । बालविवाह बिरुद्धको राष्ट्रिय अभियानले जम्बुकाँधमा आयोजना गरेको छलफल कार्यक्रमका उनले सो विचार राखेकी हुन् ।

विद्यालयमा पढ्दै गरेका बालबालिकाहरु भागेर विवाह गर्ने गरेकोले विद्यालय र घरघरमा बालविवाहका असर र बेफाइँदाहरु बारे जानकारी गराउन सके धेरै हदसम्म बालविवाह रोक्नमा सहयोग पुग्नसक्ने बताइन् ।

मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक पत्रकार विशाल सुनारले २० वर्ष नपुगी विवाह गर्न नपाइने कानूनी व्यवस्था भएकोले कानून कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताए । उनले भने ‘कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त छ, बालविवाह गर्नेहरुले उन्मुक्ति पाउँदैनन् ।’

शारीरिक विकास, शिक्षाको अवसर र आत्मनिर्भर बन्न सक्ने भएकोले २० वर्ष नपुगी विवाह गर्न नहुने कुरा विद्यालयहरुमा पनि छलफल गर्ने, बालविवाह गरिहालेको खण्डमा कानूनी कारवाही गर्न थालिएको खण्डमा बालविवाह रोकथाममा सहयोग पुग्ने पत्रकार सुनारको भनाई थियो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि अमर सुनारले बालविवाह गरेकाहरुलाई छात्रबृति रोक्ने, बालविवाह गरेका कारण विद्यालयको शिक्षा रोकिएको अवस्था वा घरेलु हिंसामा परेका घटनाहरु बारे विद्यालयमा छलफल गराउन थालेमा सचेतनामा सहयोग पुग्न सक्ने बतए ।

जयदेव मावि जम्बुकाँधका प्रधानाध्यापक तिलकप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि शिक्षक, समाजका अगुवा र सरोकारवाला सहभागीले चामुण्डाबिन्द्रासैनी नगरपालिका क्षेत्रमा बालविवाह प्रचलनको अवस्था र रोकथामका प्रयत्न बारे आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया