दैलेखमा मतदानको तयारी पुरा

दैलेख : दुई वटा प्रतिनीधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मतदानको तयारी पुरा भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान भोली हुँदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थल÷मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदानस्थल निर्माणको काम सकेको बताईएको छ । विगतका निर्वाचनमा भएका कमीकमजोरीहरुलाई सुधारेर यस पटकको निर्वाचनलाई व्यवस्थित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भोली हुने मतदानका लागि सबै तयारी पुरा भएको बताए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको प्रमुख जिल्ला अधिकारी हमालको भनाई छ ।
‘सुरक्षाका हिसावले मजबुत छौँ, कुनै पनि स्थानमा अर्थात मतदान केन्द्रहरुमा समस्या आईपरे १० मिनेटमै समस्या समाधान गर्ने हिसावले व्यवस्थापन गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हमालले भने । उनले डर, त्रास र भयरहित ढंगले, कसैको दबावमा नपरी मतदानमा सहभागि हुने आह्वान समेत गरेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश वलराम लम्सालले शान्तपूर्ण रुपमा मतदान गर्न आग्रह गरेका छन् ।
दैलेखमा ७९ हजार ५ सय २० पुरुष र ७९ हजार ४ सय ३८ जना महिलासहित कुल एक लाख ५८ हजार ९ सय ५८ मतदाता छन् । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार २ सय ८२ र क्षेत्र नं. २ मा ८० हजार ६ सय ७६ मतदाता छन् ।
१३९ मतदान स्थल, २०७ मतदान केन्द्र
दैलेखमा एक सय ३९ मतदान स्थल र दुई सय ७ वटा मतदान केन्द्र छन् । जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिईन् । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. एक मा ७३ मतदान स्थल छन् भने एक सय ३ मतदान केन्द्र छन् । प्रदेश सभा एक मा ३३ मतदान स्थल र ४७ मतदान केन्द्र, प्रदेश सभा २ मा ४० मतदान स्थल र ५६ मतदान केन्द्र रहेको छ ।
यस्तै प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ मा ६६ मतदान स्थल र एक सय ४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं. २ को प्रदेश सभा १ मा ३१ मतदान स्थल र ४० मतदान केन्द्र तथा प्रदेश सभा २ मा ३५ मतदान स्थल र ५४ मतदान केन्द्र छन् ।
प्रतिक्रिया