पहिलो पटक केन्द्रीय सदस्य पाएपछि दैलेखमा कांग्रेसको कमब्याक

दैलेख–२ बाट काँग्रेसका दिक्पालकुमार शाही विजयी भएपछि विजयउत्सब मनाउँदै काँग्रेस केन्द्रीय सदस्य सीताकुमारी राना लगाएत ।
दैलेख : दैलेख काँग्रेसले २०७८ मा पहिलो पटक केन्द्रीय सदस्य पायो । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा सीताकुमारी राना निर्वाचित भएकी थिइन् । उनि इतिहास मै पहिलो पटक दैलेख काँग्रेसको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भइन् । उनको जीतसँगै नेपाली काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य प्राप्त गर्ने अबसर पायो । महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य प्राप्त गरेको दैलेख काँग्रेसले यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मजबुत जीत हात पारेको छ । काँग्रेसको जीतसँगै केन्द्रीय सदस्य रानाको योगदान र सक्रियताको चर्चा हुन थालेको छ । निर्वाचनमा केन्द्रीय सदस्य राना दैलेखका सबै क्षेत्रसँगै कालिकोट लगाएतका जिल्लामा पनि प्रचारप्रसारमा पुगेकी थिइन् ।
दैलेखका दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये काँग्रेसले एक प्रतिनिधि सभा सदस्य र तीन वटा प्रदेशसभा सदस्य जितेको छ । केन्द्रीय सदस्य रानाको निर्वाचन क्षेत्र समेत रहेको दैलेख–२ मा काँग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् । शाहीको नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग प्रतिस्पर्धा थियो । शाही निर्वाचित भएपछि दैलेख–२ मा एमालेको २३ वर्षे लामो गढ ढलेको छ भने काँग्रेस कमब्याक भएको छ । २०७४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेले वर्चश्व कायम गरेको थियो ।
निर्वाचन प्रचारप्रसारका क्रममा मतदाता भेट्दै काँग्रेस केन्द्रीय सदस्य राना ।
२०५६ मा भएको आम निर्वाचनमा यो क्षेत्रमा काँग्रेसका शिवराज जोशीले जितेका थिए । उनि राज्यमन्त्री समेत बने । यो क्षेत्रमा त्यसयताका सबै संसदीय निर्वाचनमा काँग्रेसले हार ब्यहोरेको थियो । विस्तृत शान्ति सम्झौतापछि पहिलो पटक २०६४ मा भएको संविधान सभा निर्वाचनमा काँग्रेसका हिमबहादुर शाही एमालेका राजबहादुर बुढासँग पराजित भएका थिए ।
२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उनै शाही एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग पराजित भए । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको प्रतिनीधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रमा एमालेका राजबहादुर बुढा निर्वाचित भएका थिए । बुढाले २०५६ मा निर्वाचन जितेका काँग्रेसका शिवराज जोशीलाई पराजित गरेका थिए । २३ वर्षपछि एमालेको गढ ढाल्नुमा केन्द्रीय सदस्य रानाको योगदान महत्वपूर्ण रहेको काँग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।
केन्द्रीय सदस्य रानाको गृह पालिका भैरबी गाउँपालिका र दुल्लु नगरपालिका पर्ने दैलेख–२ प्रदेश सभा (क) मा काँग्रेसकै घनश्याम भण्डारी निर्वाचित भएका छन् । दैलेख–२ (ख) मा सत्ता गठबन्धनमा सिट बाडफाँडका क्रममा नेकपा माओवादी केन्द्रलाई भाग परेको थियो । यद्धपी यो प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई पराजित गर्दै नेकपा एमालेका विनोदकुमार शाह निर्वाचित भएका छन् ।
दैलेख–१ को प्रदेश सभा (क) र (ख) मा पनि काँग्रेसले जीत हात पारेको छ । प्रदेश सभा (क) मा पुर्णबहादुर खत्री, प्रदेश सभा (ख) मा कृष्णकुमार बिसी निर्वाचित भएका छन् । यो दुवै प्रदेश सभा २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए । त्यसबेला प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका धर्मराज रेग्मी विजयी भएका थिए । यद्धपी उनि हाल नेकपा एमालेमा आबद्ध छन् । प्रदेश सभा (ख)मा नेकपा एमालेका अम्मरबहादुर थापा निर्वाचित भएका थिए । थापा हाल नेकपा (एकिकृत समाजवादी) मा आबद्ध छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र दैलेख–१ मा भने नेकपा (एकिकृत समाजवादी)का अम्मरबहादुर थापा निर्वाचित भएका छन् । यो क्षेत्र सत्ता गठबन्धनबीचको सिट बाडफाँडमा नेकपा (एकिकृत समाजवादी) को भागमा परेको थियो । दैलेख–१ मा २०४८ र २०५१ मा काँग्रेसका गणेशबहादुर खड्का, २०५६ मा नेकपा एमालेका नरबहादुर हमाल, २०६४ मा काँग्रेसका गणेशबहादुर खड्का निर्वाचिन भएका थिए । २०७० मा नेकपा एमालेका अम्मरबहादुर थापा निर्वाचित भएका थिए । यद्धपी हाल उनि नेकपा (एकिकृत समाजवादी) मा आबद्ध छन् । २०७४ मा भने नेकपा एमालेका रविन्द्रराज शर्मा निर्वाचित भएका थिए । शर्माले काँग्रेस राप्रपा गठबन्धनका उम्मेदवार दिपककुमार शाहीलाई पराजित गरेका थिए ।
को हुन् सीताकुमारी राना ?
सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।
संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।
उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन् । काँग्रेसको केन्द्रीय सदस्य समेत रहेकी राना प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित जस्तै छ । प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूतर्फ नेपाली काँग्रेसको बन्द सुचीमा ५३ औँ नम्बरमा सीताकुमारी रानालाई राखिएको छ । आदीबासी जनजाती महिलातर्फ भने उनको नाम तेस्रो नम्बरमा छ । उनि यसपाली समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद प्रवेश गर्दैछिन् ।
विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनहरुमा समेत अगुवाई गर्दै आएकी छिन् ।
प्रतिक्रिया