शिक्षाको गुणस्तर सुधार्न शिक्षकहरु अग्रसर हुनुपर्छ : थापा

शिक्षाको गुणस्तर सुधार्न शिक्षकहरु अग्रसर हुनुपर्छ : थापा

दैलेख : दैलेख क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकहरुकै अग्रसरता जरुरी रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले दैलेख सदरमुकाममा आयोजना गरेको लैंगिंक हिंसा अन्त्यको निम्ति गुणस्तरीय शिक्षाको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

नवनिर्वाचित सांसद थापाले शिक्षाको क्षेत्रमा सरकारले लगानी गरे अनुसार प्रतिफल आउन नसकेकोमा शिक्षक, अभिभावक र समुदाय संयुक्त पहलमा शैक्षिक गुणस्तर सुधार गर्न जुट्नुपर्ने सुझाव दिए । कार्यक्रममा नवनिर्वाचित कर्णाली प्रदेशसभाका सदस्य कृष्णबहादुर बीसीले केन्द्र र प्रदेश सरकारसंग समन्वयमा रहेर शिक्षामा देखिएका समस्या सुल्काउन स्थानीय सरकारले नै पहल कदमी लिनुपर्ने औल्याए ।

कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले शिक्षा क्षेत्रमा भएको लगानीको उचित सदुपयोग गर्न विद्यालय प्रशासन र समुदायको सक्रियता जरुरी रहेको बताइन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनकी जिल्ला अध्यक्ष पुष्पा थापा बोलेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापा, अधिकारकर्मीहरु गीता रम्तेल, प्रभाकुमार बिक, पत्रकार तीर्थ भण्डारी लगायतले शैक्षिक गुणस्तर सुधार, व्यवहारिक ज्ञानले समुदायमा हुने हिंसा र असामाजिक व्यवहार कमी आउने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया