जनमतको कदर गर्छौ : थापा

जनमतको कदर गर्छौ : थापा

दैलेख : दैलेख क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य सांसद अम्मरबहादुर थापाले सत्ता गठबन्धनका दलहरुको भावना र जनमतको कदर गर्न कहिल्यै कमी नरहने बताएका छन् । नेकपा एकीकृत समाजवादी दैलेखले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष समेत रहेका नवनिर्वाचित सांसद थापाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र समेतको जोडबलले संविधानको पालना र जिल्लाको विकास पहल निम्ति मतदाताले आफूलाई जिताएको सुनाए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पूर्व सांसद पार्वती बिशुन्केले संघीय संसदले बनाउने नीतिले देशको शासन व्यवस्थाको प्रभावकारिता बढ्ने भएकोले प्रदेश र स्थानीय सरकारसंग समन्वयमा काम गर्न सुझाव दिइन् ।

दैलेखका दुइटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सावित्री मल्लले निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाको विकासका लागि आपसी सल्लाह र सहकार्य बढाउनपर्ने आवश्यकता औल्याइन् ।

कार्यक्रममा सहभागी दैलेख क्षेत्र नं. १ प्रदेश (क) का सदस्य पूर्णबहादुर खत्री र दैलेख क्षेत्र नं. २ प्रदेश (क) का सदस्य घनश्याम भण्डारीले आफूहरुले गठबन्धनको सहकार्यमा जितेकोले भविष्यमा काम गर्दा समेत सहकार्य र समन्वयमा काम गर्ने बचन दिए ।

शुभकामना कार्यक्रमपछि नेकपा एकीकृत समाजवादी दैलेखले निर्वाचनमा जित हासिल गर्न गरिएका प्रयास, पार्टीको साँगठनिक सुदृढीकरण, कार्यकर्तामा राजनीतिक अनुशिक्षण, जनआकाँक्षा अनुसार जनहितमा राज्यको साधनश्रोतको उचित सदुपयोग गर्ने सवाल विषयमा समीक्षा भएको थियो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी संगठन, भविष्यमा गठबन्धन दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसंगको सहकार्यता विषयमा पार्टीको पालिकास्तरको नेतृत्वले रिर्पोटिङ्ग गरेका थिए ।

 

प्रतिक्रिया