सेवाग्राहीको गुनासोलाई हलुका रुपमा लिन्छन् यातायातका कर्मचारी

सेवाग्राहीको गुनासोलाई हलुका रुपमा लिन्छन् यातायातका कर्मचारी

सुर्खेत :  यातायात व्यवस्था कार्यालय सुर्खेतमा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । समयमा कार्यालयका कर्मचारी उपस्थित नहुँदा सास्ती खेप्नुपरेको हो ।

दैलेखबाट यातायात कार्यालयकै कामको लागि सुर्खेत आईपुगेको जिवराज रेग्मीले कार्यालय समयमा काम नहुँदा समय खेर गएको बताए । ‘ब्लुबुक नविकरणका लागि दैलेखबाट यहाँ आएको हुँ । १० बजे आएको म अहिले १२ बजिसक्यो । कार्यालयमा प्रमुखदेखि सम्बन्धित फाँटका कर्मचारी कोही पनि हुनुहुन्न ।’ उनले भने, ‘आज काम भएन भने भोली शनिबार र पर्सि आईतबारसम्म गरी ३ दिन सुर्खेत बस्नुपर्ने बाध्यता हुनेछ । त्यस अवधिसम्मको अनावश्यक खर्च हुनेभयो ।’

यस्तै, अर्का सेवाग्राही कमल रिजालले मोटरसाइकलको ब्लुबुक नविकरण गर्न १० बजे नै बैंक भौचर लिइसकेपनि अन्य कर्मचारीहरु नभएर काम रोकिएको बताए । ‘म लगायत अन्य सेवाग्राहीहरु विहानै १० बजेदेखि कामका लागि कुरिरहेका छौं । कार्यालय प्रमुखलाई सोध्दा परीक्षाको बाहना देखाउनुभयो । कार्यालय सहयोगी मात्रै हुनुहुन्छ । तर परीक्षाको कारण खुलाएर कुनै जानकारी गराइएको छैन ।’

कार्यालय प्रमुख आनन्द चपाईले कार्यालयमा सम्बन्धित फाँटका कर्मचारी नभएको स्वीकार गरे । उनले सवारी चालक अनुमति पत्रको परीक्षा भैरहेको हुँदा कार्यालयमा कर्मचारी नभएको बताए । यद्यपी, कार्यालयका कर्मचारी परीक्षामा भएकोले सेवा प्रवाह सम्बन्धि सूचना सार्वजनिक गरिनुपर्ने थियो । तर, कार्यालयमा कुैनपनि सूचना नटाँसिएको सेवाग्राहीले बताए । कार्यालय प्रमुख चपाईका अनुसार कार्यालयमा ८ जनामात्रै कर्मचारी कार्यरत छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत सेवाग्राहीको गुनासोलाई हलुका रुपमा लिएको उनिहरुको गुनासो छ । ‘हामीले सहायक प्रमुख जिल्ला अधिकारीलाईलाई समेत जानकारी गराएका थियौं । तर, उहाँले हलुका रुपमा लिनुभयो । हामीले अपेक्षा गरेअनुसारको जवाफ दिनुभएन ।’ सेवाग्राहीले भने ।

यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ खगेन्द्र बहादुर मल्ले सेवाग्राहीको जानकारी आएपछि कार्यालय प्रमुखलाई जिम्मेवार हुन भनिसकिएको दावी गरे ।-सिलापेपर

प्रतिक्रिया