गुराँस गाउँपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिँदै

गुराँस गाउँपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिँदै

दैलेख : दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी गर्दैछ । बाल अधिकारसम्बन्धी समग्र पक्षको प्रवद्र्धन गर्ने उद्धेश्यले गुराँस गाउँपालिकाको वडा नं ८ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने तयारी गरेको छ । स्थानीय स्तरका सबै क्षेत्र र तहका निकायहरुको नीति, संरचना, प्रणाली र कार्यप्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न लागिएको हो ।

बालमैत्री स्थानीय शासन वडा घोषणा गर्दाका अवसर र चुनौतीहरुको बारेमा ध्यान दिन जरुरी भएको गुराँस गाउपालिकाका अध्यक्ष टोप बहादुर बि.सि ले बताए । बालमैत्री स्थानीय शासन घर, परिवार, विद्यालय र समुदायको व्यवहार परिवर्तनसँग पनि सम्बन्धित भएकाले बालबालिका माथी हुने सबै प्रकारका हिंसा, दुव्र्यवहारको अन्त्य हुनुपर्ने उनको भनाई थियो । उनले भने, ‘बालमैत्री वडा घोषणा पश्चात भएका परिवर्तनहरु सिमा जोडिएका स्थानीय तह र वडाहरुले समेत अनुसरण गरी अबलम्बन गर्न आवश्यक छ ।’

बाल बचाउ, बाल संरक्षण, बालविकास, बालसहभागिता र संस्थागत विकासासँग सम्बन्धित ५१ वटा सूचक पुरा गरिएमा गाउपालिका वा वडालाई बालमैत्री घोषणा गर्न सकिने प्राव्धान बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७४ मा व्यवस्था गरेको छ ।

बालमैत्री घोषण गर्न आवश्यक पर्ने सूचकहरु पुरा भइसकेकाले गुराँस गाउँपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी भएको वडा नं ८ का वडा अध्यक्ष दीपेन्द्र ओलीले बताए । सबैजसो सूचक पूरा भएकोले यहि मंसिर २९ गते वडालाई बालमैत्री वडा घोषणा गर्ने निर्णय भएको वडाध्यक्ष ओलीले बताए ।

वडाका सबै संरचना बालमैत्री भएको उनको भनाई छ । साबुन पानीसहित विद्यालयमा छात्रछात्राका लागि अलग अलग शौचालयको व्यवस्था छ । ‘बालविकासमा अध्ययन गर्ने बालबालिकालाई पिफर्म, कार्पेटको व्यवस्था, बालश्रम र बालविवाहमा न्यूनीकरण, विद्यार्थी संख्याको आधारमा शिक्षक, डेस्क बेन्चको व्यवस्था छ । बालविवाह हामी घटाउन सफल भएका छौ । बालश्रममा संलग्न बालबालिकालाई घरमा पुनस्र्थापना गर्नुका साथै विद्यालय निरन्तरता र जिविकोपार्जनका लागि आर्थिक सहयोग, सिपमुलक तालिमको समेत व्यवस्था गरिएको छ,’ ओलीले भने । बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा सँगै बालविवाह निषेधित, बालश्रममुक्त, हिंसारहित वडा पनि घोषणा गर्ने तयारी रहेको उनको भनाई थियो ।

बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरे चार वटा प्रतिफल प्राप्त हुने सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले   बताए । ‘जुन स्थानीय तह बालमैत्री स्थानीय शासन युक्त हुन्छ त्यो स्थानीय तहले बालबालिकाको वस्तुस्थिती विवरण, बालबालिकाको प्रतिवेदन, लगानी योजना र बालबालिकामैत्री नीति निर्माण लगाएतका प्रतिफल प्राप्त गर्नेछ,’ अधिकारीले भने ।

प्रतिक्रिया