मानव अधिकार आयोगको टोलीद्धारा राउटे बस्तीको अनुगमन

मानव अधिकार आयोगको टोलीद्धारा राउटे बस्तीको अनुगमन

दैलेख : राष्ट्रिय मानव अधिकार आयोगको टोलीले दैलेखमा रहेको राउटे बस्तीको स्थलगत अनुगमन गरेको छ । लोपोन्मुख तथा फिरन्ते जाती राउटेको अवस्थाबारे टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको हो । आयोग, सोसेक नेपाल र काठमाडौं युनिर्भसिटीले राउटे समुदायको अवस्थाबारे अध्ययन गरिरहेको छ । त्यसकै शिलशिलामा बस्तीमा आयोगका कर्णाली प्रदेश प्रमुख लोकनाथ बास्तोला नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको हो । राउटे बस्तीमा अवलोकनपछि आयोगको टोलीले राउटे नागरिकको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्न सुझाव दिएको छ ।

जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै राउटेको भाषा, भेषभुषा, संस्कृतिको रक्षामा जोडदिनुपर्ने आयोगका कर्णाली प्रदेश प्रमुख बास्तोलाले बताए । राउटेको जीवन रक्षाका लागि स्वास्थ्य, सरसफाई र शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्नुपर्ने उनको भनाई छ । ‘राउटे नागरिकहरुमा सरसफाईको अवस्था नाजुक छ, मदिराको प्रयोग अत्यधिक छ,’ बास्तोलाले भने ‘सरसफाईका लागि राउटे नागरिकहरुलाई सचेतना जरुरी छ, मदिराको प्रयोगलाई तत्काल रोक्नुपर्छ ।’

मदिराको अत्यधिक प्रयोग रोक्न नसके राउटेको अस्तित्व नै सखाप हुनसक्ने खतरा बढेको उनको भनाई छ । राउटे समुदायको अस्तित्व केवल इतिहासमा मात्र सीमित रहने अवस्थालाई ख्याल गरेर तीनै तहका सरकारले विशेष ध्यानदिनुपर्ने उनको भनाई छ । राउटे बालबालिकाहरु पढाईमा इच्छुक भएपनि विविध कारण उनिहरु पढाईबाट बञ्चित रहेका उनले बताए । ‘राउटे बालबालिकाहरुको शिक्षाका लागिमात्रै भनेर विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ,’ बास्तोलाले भने ‘राउटेको जीवन रक्षाका लागि विशेष कानून बनाएर लागु गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ चिसोको समयमा राउटे नागरिकहरुलाई न्यानो कपडाको व्यवस्थापन गरिनुपर्ने उनको भनाई छ । राउटे महामुखिया महिनबहादुर शाहीले चिसोको समयमा न्यानो कपडा स्वीटर वा ज्याकेट उपलब्ध गराईदिन आग्रह गरेका छन् । उनिहरुले सरकारले दिने सामाजिक सुरक्षा भत्ता सहि सदुपयोग नगरेको देखिएको बास्तोलाले बताए ।

टोलीमा आयोगका मानव अधिकार अधिकृत किरणकुमार बराम र सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा सहभागि थिए । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीविन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्क र भगवतीमाई गाउँपालिकाको हुलकाटाकुरामा गरि दुई स्थानमा बसोबास गरिरहेका छन् । हाल उनिहरुको जनसंख्या एक सय ४३ जना छ ।

प्रतिक्रिया