बाल अधिकार चेतना समूहका बालबालिकालाई अभिमुखीकरण

बाल अधिकार चेतना समूहका बालबालिकालाई अभिमुखीकरण

दैलेख (दुल्लु) : द्रोणाचल शिक्षा क्याम्पस दुल्लूका प्रमुख नरेन्द्रबहादुर बोहोराले विद्यालय शिक्षा हासिल गरिरहेका बालबालिकाहरुलाई उनीहरुको अधिकार र चेतनाको शिक्षाले उनीहरुको जीवनको मागदर्शक बन्न सक्ने बताएका छन् । दैलेखको दुल्लूमा आइतवारदेखि सुरु भएको बाल अधिकार चेतना समूहका बालबालिकाहरुको लागि २ दिने अभिमुखीकरणको उद्घाटन कार्यक्रममा उनले सो विचार राखेका हुन् । उनले बिकट गाउँबस्तीका बालबालिकाहरुका लागि बाल अधिकार चेतना कार्यक्रम परिमाणमुखी हुने बिश्वास व्यक्त गरे ।

अभिमुखीकरणको उद्घाटन कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले बालबालिकाहरुलाई रचनात्मक सीप विकास गर्न अभिमुखीकरण राखिएको जानकारी दिए । इएलपी कार्यक्रमका फोकल पर्सन दुर्गा थापा, प्रेमदेबी मावि पादुका प्रधानाध्यापक मणिराज जैसी र नेपाल राष्ट्रिय मावि किर्तिखम्ब शिक्षक लोकेन्द्र भण्डारीले पनि अभिमुखीकरण कार्यक्रमको महत्व विषयमा प्रकाश पारेका छन् ।

इन्सेकको कर्णाली प्रदेश कार्यालयले सञ्चालन गरेको इएलपी कार्यक्रम अन्तरगत दुल्लू नगरपालिकाका दुई वटा विद्यालय प्रेमदेबी मावि पादुका र नेपाल राष्ट्रिय मावि किर्तिखम्बमा गठित बाल अधिकार चेतना समूहका २६ जना बालबालिकाको तालिममा सहभागिता छ ।

बाल अधिकार, नेतृत्व सीप, लैंगिक हिंसा तथा समाजमा हुने विभेद बिरुद्ध खवरदारी, वातावरण शिक्षा लगायत भित्तेपत्रिका प्रकाशन समेतका विषयमा अभिमुखीकरण गर्ने विषय सूची छ । अभिमुखीकरणमा इन्सेक कर्णाली प्रदेश संयोजक सुबेदी, इएलपी कार्यक्रमका फोकल पर्सन थापा, इन्सेकको ‘अधिकार–२ परियोजना’का कार्यक्रम अधिकृत किरण पौडेल, इन्सेक दैलेख प्रतिनिधि अमर सुनारले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया