महिलामाथी हुने सबै खाले विभेद अन्त्य जरुरी : मेयर शर्मा

महिलामाथी हुने सबै खाले विभेद अन्त्य जरुरी : मेयर शर्मा

दैलेख : नारायण नगरपालिकाका मेयर लोमन शर्माले घरघरमा शान्ति, समृद्धिका लागि महिला माथि हुने सबै खाले विभेद उन्मूलन गर्न जरुरी रहेको बताएका छन् । सरकारका प्रयासहरुलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको मेयर शर्माको भनाई छ ।

उनले महिला, बालबालिका र अपांगता भएकोहरुलाई अहिले पनि हिंसा भइरहेको तर्क गरेका छन् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको जिल्ला सदरमुकाममा आयोजित समापन कार्यक्रममा महिला माथि भइरहेको घरेलु हिंसा सन्दर्भमा देखाइएको सडक नाटक प्रदर्शन गर्ने समूहलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी भुवनेश्वर साहले लैंगिक हिंसाको रोकथाम गर्न पहिलो कुरा कारण पत्ता लगाउनुपर्ने बताए । ‘घटना हुन नदिन जनचेतनाको काम पनि भइरहेको र यति हँुदा पनि हिंसाका घटना भएमा क्षमा गर्न सकिंदैन कारवाही हुन्छ,’ उनले भने ।

सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले दैलेखमा महिला तथा बालबालिका माथि हुने गरेका हिंसा र रोकथामका उपाय बारे सरकारी प्रयास अझैं प्रभावकारी बनाइनुपर्ने बताए । इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारले नोभेम्वर २५ तारिकदेखि चल्ने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान र डिसेम्वर १० तारिकमा मनाइने विश्व मानव अधिकार दिवसको विषयमा प्रकाश पारे ।

नारायण नगरपालिकाको कोभिड १९ तथा लैंगिक हिंसा प्रतिकार्य कार्यक्रमका संयोजक प्रमिला आरसीको अध्यक्षतामा भएको कार्यक्रममा महिला माथि हुने घरेलु हिंसा र यसको सामाजिक प्रभाव विषयमा युवा अभियन्ताहरुको समूहले सडक नाटक प्रर्दशन गरेका छन् ।

डोमनिकन गणराज्यमा राजनितिक गतिविधिमा लागेका एकै परिवारका ३ दिदीबहिनी पेटिया, मिनर्भा र मारियाको सन् १९६० नोभेम्बर २५ मा हत्या गरिएको घटनाको संस्मरण गर्दैै नोभेम्बर २५ लाई महिला विरुद्ध हिंसा दिवस मनाउन थालिएको थियो । संयुक्त राष्ट्र संघको निर्णय अनुसार सन् २००० यता हरेक वर्ष नोभेम्वर २५ तारिकदेखि डिसेम्वर १० अन्तरराष्ट्रिय मानव अधिकार दिवसका दिनसम्म १६ दिनसम्म महिला हिंसा बिरुद्धको अभियान सञ्चालन गर्ने गरिन्छ ।

१६ दिनसम्म चल्ने भएकोले यसलाई महिला हिंसा बिरुद्धको १६ दिने अभियान पनि भनिन्छ । पछिल्लो समय महिला मात्र नभई पुरुष र तेश्रो लिंगीहरु पनि हिंसामा पर्ने गरेको भन्ने व्याख्या गर्दै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान नाम दिइएको छ ।

 

प्रतिक्रिया