सीताकुमारी राना काँग्रेसको समानुपातिक सांसद

सीताकुमारी राना काँग्रेसको समानुपातिक सांसद

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी राना समानुपातिक सांसदको रुपमा दैलेखबाट छनौटमा परेकी छन् । उनलाई नेपाली काँग्रेसले समानुपातिक निर्वाचन प्रर्णाली अन्तरगर्त प्रतिनिधि सभातर्फ सांसद सिफारिस गरेको हो । निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिबार बसेको पदाधिकारी बैठकले रानाको नाम प्रतिनिधि सभा सांसदमा टुङ्गो लगाएको हो । काँग्रेसले रानाको नाम आदीवासी जनजातीतर्फ प्रतिनिधि सभा सांसदमा सिफारिस गरेको छ । अब निर्वाचन आयोगले निर्वाचित भएका घोषणा गर्न बाँकी छ । समानुपातिकतर्फ कांग्रेसले ३२ सिट प्राप्त गरेको थियो ।

को हुन् सीताकुमारी राना ?

सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।

संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।

उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको बन्द सूचीमा थिइन् ।

विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनहरुमा समेत अगुवाई गर्दै आएकी छिन् ।

प्रतिक्रिया