सामुदायिक विद्यालयको सवलिकरणका लागि शैक्षिक बहस

सामुदायिक विद्यालयको सवलिकरणका लागि शैक्षिक बहस

गुराँस आवीमा आयोजित शैक्षिक बहस कार्यक्रममा सहभागिहरु । 

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाको शैक्षिक सुधारका लागि बहस गरिएको छ । यहाँको सामुदायिक विद्यालयको सवलिकरणका लागि शैक्षिक बहस आयोजना गरिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समितिद्धारा गुराँस गाउँपालिका–५ रानीमत्तास्थित गुराँस आधारभुत विद्यालयमा सञ्चालित बहसमा शैक्षिक सुधारमा सबै जागरुक हुनुपर्नेमा जोड दिईएको छ ।

बहसमा कम्प्युटर शिक्षा प्रभावकारी नभएको, शिक्षक अभाव, शिक्षकहरु समयमै विद्यालय नपुग्ने, नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको, विद्यालयहरुमा घरबार नभएको सवालमा छलफल भएको छ । विभिन्न क्षमता विकास तालिम प्राप्त गरेका शिक्षकहरुको मूल्यांकन नभएको लगाएतका सवालमा छलफल भएको छ । स्थानीय अभिभावक टिकाराम ढकालले विद्यालयको भवन निर्माणका क्रममा सामाजिक परिक्षण नभएको, शिक्षकहरु समयमै विद्यालय उपस्थित नभएको गुनासो गरेका छन् ।

बहसमा गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले सामुदायिक विद्यालयको हेरचाह र रेखदेखको जिम्मेवारी सबैको रहेको तर्क गरेका छन् । उनले बालबालिकाको इच्छा अनुसार पढाउन शिक्षकहरुलाई निर्देशन दिएका छन् । घेरबार हुन बाँकी रहेका विद्यालयमा गाउँपालिकाले घेरबारको लागि पहल गर्ने अध्यक्ष बिसीको भनाई छ । ‘शैक्षिक सुधारमा सबैको भूमिका उत्तिकै छ, अभिभावकले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्छ, शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरु उपस्थित भए नभएको खोजी गर्नुपर्छ,’ उनले भने । उनले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्न लागिएको बताए । उनले विद्यालयको कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष दीपेन्द्र ओलीले सामुदायिक विद्यालयमा राजनीति नगर्न आग्रह गरेका छन् । विद्यालयमा उत्पन्न शिक्षक अभावको समस्यालाई समाधान गर्ने उनले बताए । ‘अहिले शिक्षा समितिले विद्यालय तहमा अनुगमन गरिरहेको छ,’ ओलीले भने ‘शिक्षक अभावको समस्या छिट्टै समाधान गर्छौ ।’ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मदनप्रकाश मल्लले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गतका भवन निर्माणका क्रममा उत्पन्न समस्या समाधान गर्ने बताए ।

गुराँस गाउँपालिकामा ४८ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये कृष्ण प्रावि हाल सञ्चालनमा छैन् । गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक नारायणप्रसाद ढकालका अनुसार आठ हजार पाँच सय बढि विद्यार्थीसंख्या रहेको यो गाउँपालिकामा तीन सय ३१ शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया