कोल्डस्टोर नहुदाँ सुन्तला कृषक बर्षेनी घाटा ब्यहोर्दै

कोल्डस्टोर नहुदाँ सुन्तला कृषक बर्षेनी घाटा ब्यहोर्दै

सल्यान : सल्यानमा सुन्तलाको सिजन शुरु भएको छ । जिल्लाका बिभिन्न स्थानमा खेती गरिएको सुन्तला पाक्नथालेसँगै सुन्तलाको सिजन शुरु भएको हो । जिल्लाको कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, कजेरी, सेजवालटाकुरा लगाएतका क्षेत्रमा सुन्तला पाकेपछि सुन्तलाको खरिद बिक्री पनि शुरु भएको छ । जिल्लाको कोटमौला बाहेक अन्य स्थानका सुन्तला पाकेर बजार निर्यात गर्न थालिएको छ ।

अधिकांश क्षेत्रका सुन्तला कृषकहरुले स्थानिय ब्यापारीहरुलाई ठेक्का दिएका छन् । जसका कारण सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, क्यारेटमा राख्ने, गाडीमा लोड गर्नेहरुको चहलपहल बढेको छ । जिल्लाका कृषकहरुले ब्यापारीहरु मार्फत नै सुन्तला बेच्ने गरेका छन् । अधिकांश क्षेत्रमा व्यापारी पुगिसकेका छन् भने कोटमौला क्षेत्रका कृषक व्यापारी पर्खिएर बसेका छन् । यहाँ उत्पादित सुन्तला धनगढी, कैलाली, नेपालगञ्ज, बुटवल, दाङ्ग लगाएत बिभिन्न शहरहरुमा निर्यात हुने गर्छ ।

सुन्तलाको स्वाद, दानाको आकार, बजारको मागको आधारमा व्यापारी र किसानहरुले नै आपसी समझदारीमा मुल्य निर्धारण गर्छन् । तर यस बर्ष सोचेअनुसारको सुन्तलाले बजार मुल्य नपाएको कृषकहरु बताउँछन् । जिल्लामा चिस्यान केन्द्र नहुदाँ पाकेको सुन्तला तत्कालै बिक्री गर्नुपर्ने भएकाले सुन्तलाले उचित मुख्य नपाएको कृषकहरुको भनाइ छ । जिल्लाका कृषकहरुले बोटबाटै सुन्तला बेच्नुपर्ने बाध्यता छ ।

सुन्तला टिपेर स्टोर गर्ने र केही महिनापछि बिक्री गर्दा सुन्तलाले वजार मुल्य राम्रो पाउने भएपनि जिल्लाका कृषकहरुले भने बोटबाटै सुन्तला टिपेर व्यापारीहरुलाई बेच्नुपर्ने बाध्यता रहेको छ । तर जिल्लामा चिस्यान केन्द्र छैन् । जिल्लामा चिस्यान केन्द्र निर्माणका लागि बेला बेलामा आवाज उठ्ने गरेको छ तैपनि सरोकारवाला निकायहरुको बेवास्ताका कारण कृषकले उत्पादन गरेको बस्तु तत्कालै निर्यात गर्नुपर्ने बाध्यता छ ।

कोटमौलाका कृषक लोक बहादुर डाँगीले सुन्तला पाक्न शुरु भैसकेकाले ब्यापारीको पर्खाइमा रहेको बताए । तर चिस्यान केन्द्र नहुदाँ कम मुल्यमा सुन्तला बेच्दै आएको उहाँको भनाई छ । ‘सुन्तला खरिदका लागि ब्यापारीहरु गाउँमा नै आउँछन्, तर उनीहरुले कम मुल्यमा सुन्तला लैजान्छन्’ उनले भने ‘चिस्यान केन्द्र नहुदाँ स्टोर गरेर राख्न सक्ने अवस्था भएन, कुहिएर खेर जानुभन्दा ब्यापारीले भनेअनुसारकै मुल्यमा भएपनि सुन्तला बिक्री गर्दै आएका छौँ ।’

करिब ९ सय बोट सुन्तला भएका उनले सुन्तला बेचेर नै झण्डै १० लाख बढी आम्दानी गर्दै आएका छन् । गत बर्ष करिब ५० क्विन्टिल सुन्तला उत्पादन गरेका उनले यसबर्ष गतबर्षको भन्दा दोब्बर उत्पादन हुने बताए । ‘२०६६ साल देखी सुन्तला खेती शुरु गरेको हुँ, सुन्तलाका बिरुवा पनि उत्पादन गर्छु’ उनले भने ‘ब्यापारी धेरै आउने र कृषकको लागत समेत जोडेर मुल्य दिने निर्धारण हुने भए सजिलो हुन्थ्यो ।’

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएका कृषकहरु सुन्तलाका बोट सुक्न थालेपछि समस्यामा परेका छन् । सुन्तलाको जरा मर्ने, पात पहेँलो हुदैँ झर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या आउने गरेको कृषकहरु बताउँछन् ।

गत बर्षको तुलनामा यस बर्ष जिल्लामा सुन्तला उत्पादनमा बृद्धि हुने आँकलन गरिएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा करिब ९ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले गत बर्षको भन्दा यो बर्ष सुन्तलाको दाना राम्रो भएकाले उत्पादन पनि बढ्ने बताए । अहिले कोटमौलाबाट ब्यापारीले ५५ देखी ६० रुपैँया प्रतिकिलोमा सुन्तला किन्न शुरु गरेका छन् ।

आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लाभर १० हजार ६ सय ९० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै गत आर्थिक बर्ष २०७७÷०७८ मा ७ हजार ४ सय ८३ मेट्रिक टन र आर्थिक बर्ष २०७८÷०७९ मा ६ हजार ८ सय ८५ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको थियो । तर विगतको विगत बर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन बढ्ने कार्यालयको भनाइ छ । यहाँ उत्पादन भएको सुन्तलाको करिब ६५ प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुदैआएको छ ।-सल्यानटुडे

प्रतिक्रिया