व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड

व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड

फाइल तस्बीर

सुर्खेत : निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् ।

निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै गएको हो ।

वीरेन्द्रनगर–१० रहलपुरकी राधा चौधरीले १० कठ्ठा जमिनमा तरकारी खेती लगाएको बताए । उनले तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि रोजगारीका लागि समेत बाह्य जानुपर्ने समस्या समधान भएको जानकारी दिए । “तरकारी खेती गर्ने सीप र आवश्यक पर्ने बीउबिजन किन्नका लागि क्रेडिट कार्ड पाएसँगै आफ्नो पाँच जनाको परिवार तरकारी खेती गरेको”, उनले भने ।

उनले भने, “परिवारका पाँच जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त हुन्छौँ, आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छौँ र दैनिक ५० किलो तरकारी बेच्ने गरेका छौँ ।” कार्ड पाएपछि आवश्यक बीउबिजन, विषादी, कृषि उपकारणलगायत सामग्री किन्न सजिलो भएको चौधरीले बताए । उनले भने, “घरमा पैसा नभए पनि समस्या छैन, क्रेडिट कार्ड पाएपछि कृषि व्यवसायमा ठूलो राहत मिलेको छ ।”

उनीजस्तै वीरेन्द्रनगर–९ की शान्ति चौधरीले पनि सात कट्ठामा तरकारी खेती सुरु गरेकि छन् । उनले दैनिक ५० किलोसम्म तरकारी बिक्री गरी मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेकि छिन् । उनले घरमा तरकारी लगाए पनि निर्वाहमुखी थियो, त्यति तरकारीले घरमा खान पुग्दैन थियो । तरकारी किन्न हामी आफैँ बजार आउँथ्यौँ, अहिले आफैँ व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानीसँगै परिवारका लागि खाने तरकारी प्रशस्त फलाउने गरेका छौँ”, उनले भनिन् , “पाँच जनाको परिवारको खर्च सजिलै टरेको छ, महिनामा कम्तीमा रु एक लाखसम्म बचत गरिरहेका छौँ ।” उनको तरकारी बारीमा अहिले काउली, आलु, लसुन, धनिया, साग, मुला, टमाटरलगायत तरकारी उत्पादन भइरहेको छ ।

सिसा परियोजनाले मेगा बैंकसँग सहकार्य गरी चिप्ससहितको क्रेडिट कार्ड बनाएको हो । सुर्खेतमा पहिलो चरणमा ५० जनाले कार्ड पाएका छन् । जिल्लाभरि दुई सय जनालाई यो वर्ष परिचयपत्र वितरण गरिने सिसा परियोजनाका अधिकृत अष्ट प्रजापतिले बताए । उनले परियोजनामार्फत किसानलाई खाताबुकसमेत दिएको र किसानले हरेक दिन बेच्ने तरकारी नाम, बिक्री भएको परिणाम, खर्च र जम्मा भएको रकम खातामा टिपेर राख्ने गरेको बताए । उनले भने, “किसानले कति आम्दानी र खर्च भयो भन्नेबारे दैनिक लेखाजोखा गरेका छन् ।” क्रेडिट कार्डसहितको परिचयपत्रले रहरपुर, गुस्रा र प्रसेनीका किसान अहिले कृषि पेसामा मोहित भएको परियोजना अधिकृत प्रजापतिले बताए । उनले व्यावसायिक कृषिमा अग्रसर भएका महिलाहरूको प्रगति देखेर नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनलगायतको टोली खुसी भएको बताए ।

रोजगारीसँगै मासिक रु एक लाखसम्म आम्दानी गर्न थालेपछि त्यस वरिपरिका किसानसमेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको स्थानीयवासीले बताए । तरकारी खेती चलन नै थिएन, पछिल्लो समय बजारमा तरकारीको मूल्य राम्रो पाउने भएपछि किसान सबै तरकारी खेतीमा लागेको छन् एक स्थानीयवासी बताउँछन् । चुलो चौकामा सीमित हुने महिलाले आफैँ सक्षम भएर व्यावसायिक तरकारी खेती गरेको देख्दा सबै खुसी भएका छन् । महिला आर्थिकरूपले सक्षम बन्दै गएपछि छिमेकमा समेत घरेलु हिंसाका घटनामा पनि कमी आएको छ ।-रासस

प्रतिक्रिया