सल्यानमा वर्षेनी महको उत्पादन घट्दो

सल्यानमा वर्षेनी महको उत्पादन घट्दो

सल्यान :  सल्यानमा वर्षेनी महको उत्पादन घट्दै गएको छ । महको मूल्य बढ्दै जाँदा उत्पादन भने वर्षेनी घट्दै जान थालेको छ । चरन क्षेत्रको अभाव, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण बर्सेनी महको उत्पादन घट्दै गएको किसानहरुको भनाई छ ।

चरन क्षेत्रको अभाव हुँदै जानु र साउनमा लगातार वर्षा हुँदा मह उत्पादनमा निकै कमी आएको कालिमाटी गाउँपालिका २ झिगानेका लोकेन्द्र वलीले बताए । चिउरी फुल्ने समयमा लगातार वर्षा हुँदा फूलको रस पानीले यस वर्ष महको उत्पादन धेरै घटेको उनको भनाई छ । उनले भने,  ‘गत वर्ष ४ क्विन्टल मह उत्पादन भएको थियो तर यो वर्ष १ क्विन्टल ५० किलोमात्र मह उत्पादन भयो ।’ महको उत्पादन घटेकै कारण मूल्य भने राम्रो पाइरहेको उनले बताए भनाई छ । गत वर्ष प्रतिकिलो १ हजार देखि १२ सयसम्म बिक्री भएको मह यस वर्ष १५ सय रुपैयाँसम्म बिक्री भएको उनको भनाई छ । कात्तिके मह औषधिय गुण हुने भएकाले पनि कात्तिके महको माग बजारमा धेरै हुने गरेको वलीको भनाई छ ।

यस्तै त्रिवेणी गाउँपालिका ४ फलावाङ दीप बहादुर बुढाले यो वर्ष एक किलो पनि मह उत्पादन नभएको बताए । गत वर्ष १ सय ५० किलो मह उत्पादन गर्नु भएका बुढाले यो वर्ष भने अरिंगालले मौरी खाइदिदा समस्या भएको बताए । उनले भने, ‘मसँग सय बढी मौरीका घार थिए तर सबै अरिंगालले सबै मौरी खाइदिदा यो वर्ष मह भन्दा पनि मौरी बचाउन गाह्रो भयो ।’

मौरी पालनमा किसानको आकर्षण बढे पनि चरणलगायतका कारण महको उत्पादकत्व वर्षेनी घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कति मह उत्पादन भयो भनेर डाटा संकलन भइरहेको बताउँदै कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले यो वर्ष विगतका वर्षको तुलनामा महको उत्पादन घटेको अनुमान गरिएको बताए ।

असोजमा आएको अविरल वर्षाले चिउरीको फूलको सबै रस बगाउँदा र जलवायु परिवर्तनको प्रभावका कारण उत्पादनमा गिरावट आएको उनको भनाई छ । गत वर्ष सल्यानमा १५ मेटिक्टन मह उत्पादन भएको थियो ।

प्रतिक्रिया