योजना सम्झौता वडामै

योजना सम्झौता वडामै

दैलेख : दैलेखको गुराँस गाउँपालिकाले वडामै योजना सम्झौता गर्न सकिने व्यवस्था मिलाएको छ । गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण योजनाहरु वडा तहमै सम्झौता गर्न सकिने गरि घुम्ती शिविर सञ्चालनमा ल्याईएको छ । योसँगै योजनाको सम्झौता गर्न उपभोक्ताहरु गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स–साना योजनाहरुको सम्झौता गर्न पनि उपभोक्ताहरु गाउँकार्यपालिकाको केन्द्रमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँपालिकाले वडागत घुम्ती शिविरहरु सञ्चालन गरेको छ ।

पुष १२ गतेबाट घुम्ती शिविर सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । उनको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोलीले मंगलवार गुराँस गाउँपालिका–७ मा उपभोक्ता समितिसँग योजनाहरु सम्झौता गरेको छ । गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले पुस ७ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयअनुसार ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरुमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका ओलीले पुस १३ गते वडा नम्बर ६, १४ गते वडा नम्बर ५, १७ गते वडा नम्बर ४, १८ गते वडा नम्बर ३, १९ गते वडा नम्बर २, २० गते वडा नम्बर १ र पुस २१ गते वडा नम्बर ८ मा शिविर सञ्चालन गरिनेछ । घुम्ती शिविर सञ्चालन गरेपछि योजना सम्झौताको लागि एकै पटक सबै वडाबाट गाउँपालिकाको कार्यालयमा उपभोक्ताहरु पुग्दा भीडभाड र उपभोक्ताहरुले धेरै रकम खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको ओलीले बताए ।

‘समुदायको मागअनुसार योजना निर्माणको लागि थोरै–थोरै बजेटसमेत बिनियोजन गर्नुपर्ने बाध्यता छ, योजना सम्झौता, फरफारक लगायतका काम गर्ने बेलासम्म यातायात, खाजा, बास र खानामा उपभोक्ता रकम खर्च हुन्थ्यो, अब त्यो बाध्यता अन्त्य भएको छ,’ उनले भने ।
ओलीका अनुसार उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरुमा उपभोक्ता समितिले ब्यहोर्नुपर्ने लागत सहभागिता अनिवार्य गर्दै पाँच लाखसम्मका योजनामा तीन हजार र पाँच लाख भन्दा माथिका योजनामा पाँच हजार रुपैयाँ उपभोक्ता समितिलाई प्रशासनिक खर्च उपलब्ध गराउने गरिएको छ । वडामै योजनाको सम्झौता गरेपछि गाउँपालिकाको केन्द्र रानीमत्ता पुग्दा लाग्नसक्ने खर्च बचेको उपभोक्ता समितिले जनाएका छन् ।

प्रतिक्रिया