भेरीका ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर

भेरीका ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर

जाजरकोट :  भेरी नगरपालिका भित्रका ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ । नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले नगरपालिकामै बालबालिका विद्यालयबाहिर हुनु, बालविवाहमा वृद्धि हुनु, अभिभावक र सरोकारवाला निकाय गैरजिम्मेवार हुनुको परिणाम भएको बताए ।

भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुनले ११४ जना बालबालिकालाई विद्यालयमा ल्याउन विद्यालय र अभिभावकले पहल लिनुपर्ने बताए । नगरपालिकाभित्र शैक्षिक सुधार गर्न, गुणस्तरीय मापनका सूचक तयार गर्न शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवाला निकायलाई भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले आग्रह गरिन् ।

सरोकारवाला निकायले तयार गरेको शैक्षिक गुणस्तरका सूचकका आधारमा नगरपालिकाका विद्यालय अनुगमन गरिने उपप्रमुख जैसीले बताईन् । विद्यालयको हाजिरी रजिस्टरमा बढी विद्यार्थी हुने तर विद्यालयमा कम उपस्थित हुने, शिक्षक मादक पदार्थ सेवन गरी उपस्थित हुने अवस्था अन्त्य नभएसम्म गुणस्तरीय शिक्षा पाउन नसक्ने जिल्ला समन्वय समितिका सदस्य खडक बीसीले बताए ।

बागेश्वरी प्राथमिक विद्यालय पिपेमा अभिभावकले वार्षिक एक हजार पाँच सय रुपियाँ उठाएर दुई जना शिक्षक पाल्नुपरेको भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले बताए । भेरी नगरपालिकाका १३ वटै वडामा १४ वर्षमुनिका ११४ जना बालबालिका विद्यालय पहुँचबाहिर रहेको जनाइएको छ ।

प्रतिक्रिया