अदुवाले बजार नपाउदा अदुवाखेतीतर्फ कृषकको अर्कषण घट्दो

अदुवाले बजार नपाउदा अदुवाखेतीतर्फ कृषकको अर्कषण घट्दो

सल्यान : जिल्लामा उत्पादित अदुवाले बजार पाउन सकेको छैन् । बर्षेनी हजारौँ मेट्रिकटन अदुवा उत्पादन भैरहेको भएपनि अदुवाले बजार नपाउदाँ कृषकहरु अदुवाखेतीबाट नै बिमुख हुन थालेका छन् । बजार नपाउदाँ कृषकहरुले अदुवा खेती छोडेर मकैँ, तरकारी लगाएतका अन्य बाली रोप्न थालेका छन् । जिल्लामा बर्षेनी झन्डै आधा अर्ब रुपैयाँ बढीको अदुवा उत्पादन हुने गरेको छ ।

यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरेपनि भने जस्तो मूल्य नपाएको माल्नेटाका कृषक कुलबहादुर विकले बताए । अदुवाले मुल्य नपाउँदा घरगुजारा चलाउन समस्या भएको उनको भनाइ छ । ‘आम्दानीको स्रोत भनेकै अदुवा हो, मकैँ रोप्न छोडेर अदुवा खेती गरेका हौँ, तर उत्पादन भएको अदुवाले मुल्य नपाएपछि अव अदुवाखेती नै गर्नुपर्छ भन्ने भएन्’ उनले भने ।

माल्नेटा ढारखानीमा मात्र व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका झन्डै ४ सय घरपरिवार कृषक छन् तर उचित मूल्य नपाउँदा कृषकले बर्षेनी अदुवा उत्पादन घटाउँदै लगेका छन् । विगत केही वर्षदेखि अदुवाले मूल्य नपाउँदा जीविका चलाउन समस्या भएको अर्का कृषक रमेश विकले बताए । ‘२०र२५ रुपैयाँ प्रतिकिलोले हामीलाई के आम्दानी हुन्छ रु कसरी जीविका चलाउने ?’ उनले भने ।

अदुवाको मूल्यमा आएको निरन्तरको गिरावटले कृषकमा निरासा छाएको छ । उत्पादित अदुवा खरिद गर्न स्थानीय व्यापारीले समेत आनाकानी गर्ने गरेका छन् । भारतले अदुवा निकासी रोक्दा कृषकहरूले मूल्य पाउन नसकेको स्थानीय व्यापारी बताउँछन् ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा बर्षेनी अदुवा खेती हुने क्षेत्रफल र उत्पादन दुबै घट्दै गएको छ । बजार नपाउँदा कयौँ कृषकहरुले अदुवाखेती गर्नै छोडेका छन् । कार्यालयका अनुसार गत बर्ष जिल्लाभर १ हजार ७ सय ३० हेक्टर क्षेत्रमा अदुवा खेती गरिएकोमा यस बर्ष १ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै अदुवा खेती गरिएको छ ।

यसले गर्दा अदुवाको उत्पादन पनि घटेको छ । गत बर्ष २८ हजार ५ सय ६९ मेट्रिकटन अदुवा उत्पादन भएको जिल्लामा यस बर्ष भने २७ हजार ४ सय ५० मेट्रिक टन मात्रै उत्पादन भएको छ । अदुवाले बजार नपाउँदा कृषकहरुले अदुवाखेती गर्न छोड्न थालेको कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।

‘विगत दुई बर्षदेखी अदुवाले बजार पाएको छैन्, कृषकहरुले प्रतिकिलो २०/२५ रुपैँयामा अदुवा बेच्नुपर्ने बाध्यता छ, यसले उनीहरुको लागत नै उठाउन मुश्किल पर्छ, कृषकहरुले बिस्तारै अदुवाखेती गर्न छोडेको पाइएको छ,’ उनले भने ‘बजार नपाएपछि कृषकले अदुवाखेती गर्न छोडे, जसले गर्दा उत्पादनमा पनि कमी आएको हो ।’

जिल्लामा अत्पादन भएको अदुवाको आधा मात्रै पनि जिल्लाबाहिर निकासी गर्न समस्या भएको उनको भनाइ छ । यससँगै पर्याप्त बर्षात नहुदाँ, सिँचाई र मल पर्याप्त नपुग्नु लगाएतका कारण पनि अदुवा उत्पादनमा कमी आएको बताए । विगतमा अदुवाखेतीबाट नै मनग्य आम्दानी गर्दै आएका कृषकहरु अहिले निरास बनेका छन् ।

कोल्डस्टोर छैन, खाल्डोमा भण्डारण

कृषकहरुले जिल्लामा नै कोल्डस्टोर भएको भए अदुवाले राम्रो बजार पाउने आस गरेका छन् । जिल्लामा कोल्डस्टोरको व्यवस्था भए बेमौसममा बिक्री गर्न सकिन्थ्यो । जसले गर्दा राम्रो भाउ पाउँथ्यो । तर बिक्री नहुने डरले सस्तोमा खरिदकर्तालाई अदुवा बेच्नुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् ।

जिल्लामा कोल्डस्टोर नहुदा खाल्डोमा अदुवा भण्डारण गर्नुपर्ने बाध्यता छ । बीउ र घरायसी प्रयोजनका लागि राखिएको अदुवा बारीका डिलमा खाल्डो खनेर भण्डारण गर्नुपर्ने र बढी पानी परेमा कुहिने डर हुने कृषक बताउँछन् । कोल्डस्टोर नहुदाँ परम्परागत शैलीमा अदुवाको बीउ भण्डारण गर्नुपरेको कृषक सुकलाल पुरीले बताए ।

‘यो बर्ष खाल्डोमा झन्डै ४ क्विन्टल अदुवा गाडेको छु, अव अदुवा रोप्ने बेलामा खाल्डोबाट निकाल्ने हो, खाल्डोमा नराखे बीउ बाहिरबाट खरिद गरेर ल्याउनुपर्छ,’ उनले भने ‘जिल्लामा कोल्डस्टोर नहुँदा बर्सेनि यसरी नै अदुवा गाड्न बाध्य छौँ ।’ देशभरिमै बोसे अदुवाको लागि प्रख्यात मानिएको जिलामा अदुवा खाल्डो खनेर गाड्नुपर्ने बाध्यता छ । ‘खाल्डो खनेर राख्दा बढी पानी परेमा कुहिने डर हुन्छ, तर अर्को विकल्प पनि छैन’ उनले भने ।

प्रतिक्रिया