रुकुम पश्चिममा धान उत्पादनमा वृद्धि 

रुकुम पश्चिममा धान उत्पादनमा वृद्धि 

रुकुम पश्चिम : रुकुम पश्चिममा यो वर्ष धान उत्पादन गत वर्षको तुलनामा केही बृद्धि भएको छ । गत वर्ष धान भित्र्याउने बेला भएको अविरल वर्षाले धानमा क्षेति गरेको थियो । यो वर्ष भने मौसम प्रतिकुल नभएका कारण उत्पादनमा बृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्ष ८ सय ५५.२ मेट्रिक टन बढी धान फलेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गत वर्ष जिल्ला भरमा कुल १२ हजार ९९ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष १२ हजार ९ सय ५४.२ मेट्रिकटन धान फलेको कृषि विकास कार्यालयका सूचना अधिकारी महेश बिष्टले जानकारी दिए । गत वर्ष पनि यो वर्षकै जति धान फलेको भएपनि धान भित्र्याउने बेलामा भएको लगातारको वर्षाले क्षेति गरेको उनको भनाई छ ।

यो वर्ष गत वर्षको तुलनामा केही बृद्धि भएको देखिएपनि यो वर्ष र गत वर्षको उत्पादन उस्तै उस्तै रहेको बिष्टले बताए । जिल्लामा धान खेती हुने क्षेत्रफल भने गत वर्ष र अहिले समान छ । गत वर्ष ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती भएकामा अहिले पनि सोही क्षेत्रफलमा धान रोपिएको कृषि विकास कार्यालयको भनाई छ ।

गत वर्ष प्रति हेक्टर ३.९७ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष प्रति हेक्टर ४.९७ मेट्रिक टन धान फलेको कार्यालयको तथ्यांकले देखाएको छ । जिल्लामा उत्पादनका हिसाबले धान दोस्रो प्रमुख खाद्यान्न बाली हो । जिल्लाका सबै ६ वटै स्थानीय तहमा धान उत्पादन हुन्छ ।

जिल्लामा उत्पादन र खेती हुने क्षेत्रफलका आधारमा मकै प्रमुख खाद्यान्न बाली हो । उत्पादन र खेती हुने क्षेत्रफलका आधारमा गहुँ जिल्लाको तेस्रो प्रमुख खाद्यान्न बाली रहेको कृषि विकास कार्यालयको भनाई छ ।

प्रतिक्रिया