सल्यानमा किवी खेतीबाट मनग्य आम्दानी गर्दै किसान

सल्यानमा किवी खेतीबाट मनग्य आम्दानी गर्दै किसान

सल्यान :  किवी खेतीबाट सल्यानका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । उत्पादित किवीको बजार समस्या नभएको र बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले किवी खेतीलाई थप विस्तार गर्दै लगेका छन् ।

थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन ।  सुरुमा खेती गर्दा यसबाट आम्दानी होला भनेर उनलाई विश्वास नै नलागेको छत्रेश्वरी गाउँपालिका बुराँसेकी नन्दकला कुवरले बताए । तर अहिले उनले वार्षिक ३ देखि ४ लाख आम्दानी हुन थालेपछि उनमाअनुसार खुशीले मुस्कुराएको छ । उनले भने गाउँघरका सबैले किवी लगाएपछि अर्काको देखासिकी गरेर लगाएको हो । यसबाट केही होला भन्ने सुरुमा आशा थिएन । तर आजभोलि यसले धेरै राम्रो आम्दानी दिई रहेको छ ।

बुराँसेकै तेजबहादुर योगीले पनि किवी खेतीबाटै वार्षिक १४ लाख आम्दानी गर्दै आउनु भएको छ । सबै खर्च कटाएर ८ देखि १० लाख चोखो बचत हुने उनको भनाई छ । चार रोपनीमा किवी खेती गर्दै आएका योगी सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुन् । लगाएको एक वर्षबाट नै प्रतिफल लिन सकिने भएकाले पनि किवी खेती तर्फ सबैको आकर्षण बढेको उनको भनाई छ ।

व्यापारीले बारीबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गर्ने गरेको अर्का किसान चित्र बहादुर केसीले बताए । सुरुमा परीक्षणका लागि लगाएको किवीले राम्रो उत्पादन र बजार मूल्य पनि राम्रो पाइरहेको उनको भनाई छ ।

बजारको समस्या नभएको, दुख कम र थोरै लगानीबाट पनि धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानको पछिल्लो समय किवी खेतीतर्फ आर्कषण बढेको हो । छत्रेश्वरी बाहेक त्रिवेणी र कपुरकोटका किसानले पनि व्यावसायिक किवी खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार जिल्लामा वार्षिक ७२ टन किवी केही किवी जिल्लाभित्रै खपत हुन्छ भने अधिकांश जिल्लाबाहिर निर्यात हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्राविधिक सहायक मुकुन्द शर्माले बताए । किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको उनको भनाई छ । किवी खेतीलाई प्रवद्र्धन गर्न चख्लाबन्दी कार्यक्रम अन्तर्गत अर्ग्यानिक उत्पादनमा जोड दिइएको शर्माले बताए ।

उत्पादन भएको किवी काठमाडौँ, पोखरा, विराटनगर, धनगढी, बुटवल, दाङलगायत भारतमा समेत निर्यात हुनेगरेको छ । किवीलाई स्वास्थ्यवद्र्धक फल मानिन्छ । बहुउपयोगी गुणका कारण उत्कृष्ट मानिने यो फलको हाल जिल्लमा खेती तथा खपत दर दुवै बढेको छ

प्रतिक्रिया