रुकुम पश्चिमका डेढसय किसान पुरस्कृत

रुकुम पश्चिमका डेढसय किसान पुरस्कृत

रुकुम पश्चिम : रुकुम पश्चिमका डेढसय किसान पुरस्कृत भएका छन् । जिल्लाका ६ वटै स्थानीय तहका विभिन्न विधामा उत्कृष्ट किसानहरुलाई छनौट गरेर कृषि विकास कार्यालयले पुरस्कृत गरेको हो । जिल्लाका ६ वटै स्थानीय तहमा आयोजित कृषि मेला मार्फत उत्कृष्ट किसानलाई सम्मान गरिएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिए ।

उहाँका अनुसार सबैभन्दा बढी किसान सानीभेरी गाउँपालिकामा २९ जना पुरस्कृत भएका छन् । आठबीसकोट नगरपालिकामा २८ र बाँफिकोट गाउँपालिकामा २६ जना किसान पुरस्कृत हुँदा मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा समान २४ जना किसान पुरस्कृत भएको कार्यालय प्रमुख केसीले बताए । मेलामा ल्याएका कृषि उपजका आधारमा किसानलाई पुरस्कृत गरिएको हो ।

फलफूल, तरकारी, खाद्यान्न, दलहन, मसला तथा नगदे र विविध गरी ६ वटा विधामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना पुरस्कार प्रदान गरिएको केसीको भनाई छ । प्रत्येक स्थानीय तहमा २४ जनाका दरले किसान पुरस्कृत गर्ने कार्यक्रम रहेपनि बाँफिकोट, आठबीसकोट र सानीभेरीमा प्रतिस्पर्धा कडा भएको र स्थानीय तहले समेत साझेदारी गरेपछि बढी किसानलाई पुरस्कृत गरिएको उनले बताए ।

अन्य स्थानीय तहमा कृषि विकास कार्यालयले मात्र कृषि मेला आयोजना गर्दा आठबीसकोट र सानीभेरीमा स्थानीय तहले पनि साझेदारी गरेका थिए । यहाँ प्रथम हुने किसानले ५ हजार, द्धितियले ४ हजार, तृतियले ३ हजार र शान्त्वनाले २ हजार पुरस्कार पाउँदा अन्य स्थानीय तहमा प्रथमले २ हजार, द्धितियले १५ सय, तृतियले १ हजार र शात्न्वनाले ७ सय पुरस्कार पाएका थिए ।

त्यस्तै बाँफिकोट गाउँपालिकाले कृषि मेलामा सहभागी सबै किसानलाई प्रोत्साहन स्वरुप ५/५ सय रुपैंया दिएको थियो । पौष २ र ३ गते त्रिवेणी गाउँपालिकाबाट सुरु भएको कृषि मेला पौष १७ र १८ गते आठबीसकोट नगरपालिकामा पुगेर टुंगिएको थियो ।

कृषि मेलामा जिल्लाका १३ सय ८४ जना किसानले भाग लिएका छन् भने १० हजार बढीले कृषि मेला अवलोकन गरेको कृषि विकास कार्यालयका प्रमुख केसीले बताए । कृषि मेलाका लागि कार्यालयले प्रति स्थानीय तह १ लाखका दरले ६ लाख रुपैंया खर्च गरेको केसीको भनाई रहेको छ ।

प्रतिक्रिया