यस वर्ष सल्यानमा मकै उत्पादनमा वृद्धि
खाद्यान्नमा वार्षिक रुपमा उत्पादन वृद्धि हुँदै जाँदा सल्यान खाद्यान्नमा आत्मनिर्भर
सल्यान : यस वर्ष सल्यानमा मकैको उत्पादनमा वृद्धि आएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६ हजार ८ सय ९० मेटिकट्न मकै बढी उत्पादन भएको हो ।
कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष १८ हजार ५० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदा ७४ हजार ६ सय ८० मेटिकट्न उत्पादन भएको छ । गत वर्ष १० हजार ५ हेक्टर क्षेत्रफलमा ६७ हजार ७ सय ९० मेटिकट्न मकै उत्पादन भएको थियो ।
गत वर्षको भन्दा यस वर्ष कम क्षेत्रफलमा मकै खेती गरिएको भएपनि उन्नत, हाइब्रिड जातको मकै मौसम अनुकूल हुँदा वृद्धि भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । उनका अनुसार गत वर्षको भन्दा यस वर्ष ९ सय ५५ हेक्टर क्षेत्रफल कममा मकै खेती भएको छ । मकै खेती हुने बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेको हुँदा क्षेत्रफल घटेको उनको भनाई छ ।
उत्पादन भएको मकै जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । सल्यानबाट उत्पादन भएको झन्डै ४० प्रतिशत मकै जिल्ला बाहिर निर्यात हुने बस्नेतको भनाई छ । दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म मकै जाने गरेको कार्यालयले जनाएको छ ।
सल्यान खाद्यान्नमा आत्मनिर्भर जिल्लाको रुपमा रहेको छ । जिल्लामा वार्षिक रुपमा १ लाख २९ हजार २ सय ५५ मेटिकट्न खाद्यान्न उत्पादन हुने गरेको छ । जसमा उपभोगयोग्य ५३ हजार ९ सय २६ मेटिकट्न हुने गरेको छ । जिल्लाको कुल जनसङ्ख्याको आधारमा ४८ हजार ४ सय १८ मेटिकट्न खाद्यान्न वार्षिक खपत हुने गरेको कार्यालयले जनाएको छ ।
जसबाट वार्षिक ५ हजार ५ सय ७ मेटिकट्न खाद्यान्न बचत हुँदै आइरहेको छ । धान, मकै, गहुँ, कोदो जौ जस्ता खाद्यान्न वार्षिक रुपमा उत्पादन वृद्धि हुँदै जाँदा सल्यान खाद्यान्नमा आत्मनिर्भर बनेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया