कर्णालीमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव हुँदै

कर्णालीमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव हुँदै

सुर्खेत :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव संचालन हुने भएको छ । उक्त महोत्सव आगामी माघ १३ गते देखी २१ गते सम्म सुर्खेतको वीरेन्द्रनगरमा संचालन हुने आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको आयोजनामा हुने महोत्सवमा कोभिडको प्रभावले थला परेका लघु उद्यमीहरुलाई जोगाउने र कर्णालीको कला संस्कृतीको प्रर्वद्धन गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवले लघु घरेलु साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने, कर्णालीका औद्योगिक बस्तुहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको खोजि गर्ने लक्ष्यका साथ आयोजना गरिएको हो ।

त्यस्तै उत्कृष्ट उद्यमी पुरस्कारको व्यवस्था गर्ने, सरोकारवाला तथा उद्यमीहरुविच उद्योग पर्वद्धनका लागि सहयोग गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णालीका अध्यक्ष चन्द्र बहादुर बुढाक्षेत्रीले बताए ।

आर्थिक समृद्धीका लागी कर्णालीका उद्योग खोलौँ, औद्योगिकरणमा जुटौँ भन्ने मुलनाराका साथ संचालन गर्न लागिएको मेलामा लघु उद्यमीहरु मार्फत उत्पादन गरिएका मौलिक बस्तुहरु जस्तै गलैंचा, राडिपाखी, उनीका कपडाहरु, लिउ, फेरुवा, पाखी तथा कोट सगैं महिला उद्यमीहरद्धा उत्पादित बस्तुहरु (अचार, अल्लोको कपडा, ढाकाका कपडा, पोते लगायत अन्य सिलाई बुनाइका सामग्रीहरु) को प्रर्दशन गरिने आयोजकले बताएका छन् । करीव ३ सय स्टल रहने महोत्सवमा प्रत्यक्ष ४ करोड र अप्रत्क्ष ३ करोड गरी ७ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य लिइएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया