पाँच वर्षसम्म धुलो उडाउदै मुख्यमन्त्री, कार्यालय जाने सडक

पाँच वर्षसम्म धुलो उडाउदै मुख्यमन्त्री, कार्यालय जाने सडक

सुर्खेत :  कर्णाली प्रदेश सरकारले पाँच वर्षसम्म आफ्नै कार्यालय जाने सडक पीच गर्न सकेको छैन । पाँच वर्षसम्म दुई जना मुख्यमन्त्री र झण्डै २५ जना हाराहारी मन्त्री बन्दा पनि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जाने सडक पीच नभएको हो ।

मंगलबार कर्णालीका दोस्रो मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि एक वर्ष लामो कार्याअनुभव र उपलब्धी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै बिदा भए । तर उनका उपलब्धीमा मुख्यमन्त्री कार्यालय जाने सडक पीच भएको देखिएन ।

जबकी कर्णाली कायापलट गर्ने लक्ष्य र उद्धेश्य बोकेर ६ ‘ब’ को सिद्धान्तसहित मुख्यमन्त्रीको कुर्सीमा बसेका शाहीले एक वर्ष बसेको कार्यालय जाने सडक समेत पीच गर्न सकेनन् । केवल पचार मीटर सडक पाँच वर्षदेखि अलपत्र छ भने त्यही बाटो धुलो उडाएर मन्त्री तथा मुख्यमन्त्री वर्षौ हिडेका छन् ।

घण्टाघरदेखि मुख्यमन्त्री कार्यालय जाने बाटो भन्दै बोर्ड नै सडकमा राखिएको छ । अख्तियारको नयाँ भवन अगाडिको सडकमा मुख्यमन्त्री कार्यालय जाने सडक भनेर पनि बोर्ड राखिएको छ । कर्णाली प्रदेश सरकारका अरु मन्त्रालय जाने सडक लगभग पीच देखिन्छन् ।

तर मुख्यमन्त्री कार्यालयको ढोकासम्म पुग्ने सडक पनि धुलाम्मे छ । बेला बेला ग्राभेल गरिएको सडक पाँच वर्षसम्म पनि पीच भएन । जबकी मुख्यमन्त्री कार्यालयमा सयौँ मन्त्रिपरिषद् बैठक, सचिवहरुको बैठक, विदेशी दातृ निकायका बैठक र अन्य सरोकारवाला बैठक भइरहे ।

तर कसैले पनि मुख्यमन्त्री कार्यालय जाने सडक पीचको बारेमा प्रश्न गरेको देखिएन । मुख्यमन्त्री कार्यालय अगाडिको गेट र सडकको अवस्था झन् बिजोग छ । सडककै अगाडि ढुंगा, गिट्टी र बालुवा राखेको वर्षौ भएपनि त्यो सडक पीचका लागि प्रयोग भएको देखिएन ।

मुख्यमन्त्री कार्यालय प्रदेश सरकारकै इज्जत र शानका रुपमा हेरिन्छ । मुख्यमन्त्री कार्यालय र कार्यालय जाने सडकदेखि त्यसको व्यवस्थापनले मुख्यमन्त्रीको काम र उनको सरकारको मूल्यांकन गर्ने गरिन्छ ।

तर कर्णाली प्रदेश सरकारको पाँच वर्षमा दुई दुई जना मुख्यमन्त्री हुँदा पनि आफ्नै कार्यालय जाने सडक कालोपत्रे गर्न सकेनन् । यसले कर्णाली प्रदेश सरकारले पाँच वर्षमा कस्तो काम गरेको छ रु कति उपलब्धी हासिल गरेको छ रु अनि कागजमा धेरै उपलब्धीका चाङ देखाएर व्यवहारमा जनताले महसुस गर्ने काम शून्य छन् भन्ने स्पष्ट हुन्छ ।

मुख्यमन्त्री कार्यालय यसबीचमा तला थप्नेदेखि रङरोगन गरेर चिटिक्कसमेत पारिएको छ । तर सडक पीच नहुँदा मुख्यमन्त्री कार्यालयको शोभा रङरोगन गरिएजस्तो टल्किन सकेको छैन । बरु प्रदेश सरकारको नेतृत्व गरेकाहरुको नियत र कार्यसम्पादनमाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया