नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन

नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन

 

कर्णाली : भारतीय पर्यटकलाई निकै कठिन हुने मानसरोवर दर्शन अब धेरै सहज हुने भएको छ । नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन पाउने गरि अब माउन्टेन फ्लाइट हुने भएको छ । नाट्टा बाँकेको पहलमा यसपटक अहिलेसम्मकै ठूलो उपलब्धीका रुपमा मानसरोवर फ्लाइट हुने भएको हो ।

यसपटक नेपालगञ्जमा हुने गइरहेको वेष्टर्न ट्राभल मार्टमा भारतीय ७५ जना टूर अपरेटर आउँदैछन् । उनीहरुले पनि कैलाश मानसरोवर दर्शन गर्नेछन् । हवाई उडानबाटै कैलाश मानसरोवर दर्शन गरेपछि उनीहरुले पर्याप्त मात्रामा भारतीय पर्यटक नेपाल पठाउनेछन् ।

अनि हप्तैपिच्छे वा अफर आएको खण्डमा नेपालगञ्जबाट बुद्ध एयरको जहाजमा कैलाश मानसरोवर दर्शन गर्न सकिनेछ । सस्तो र सजिलै हुने गरि नेपालगञ्जबाटै उडान भरेर कैलाश मानसरोवर दर्शन गर्न पाउनु भारतीय पर्यटकका लागि ठूलो उपलब्धी हुनेछ ।

किनकी यसअघि भारतीय पर्यटक मानसरोवर पुग्न काठमाडौँ आएर, नेपालगञ्ज पुगेर त्यहाँबाट हुम्ला सिमकोट झरेर हिड्दै वा हेलिकोप्टर चार्टर्ड गरेर मानसरोवर जानुपर्ने झन्झटिलो बाध्यतामा थिए । तर अब सहजै उनीहरुले नेपालगञ्जबाटै उडान भरेर अब कैलाश मानसरोवर दर्शन गर्न पाउने भएका छन् ।

जसको पहिलो उडान माघ महिनाको १५ वा १६ गते हुने भएको छ । माघ १४ गतेदेखि नेपालगञ्जमा सुरु हुने वेष्टर्न ट्राभल मार्टमा नेपालगञ्ज–मानसरोवर उडानको उद्घाटन पनि गर्न लागिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताएका छन् ।

‘नेपालगन्जदेखि प्रसिद्ध धाम कैलाश मानसरोवर प्रवर्द्धनात्मक उडान मार्फत हवाइ दर्शन प्रारम्भ गर्दैछौं । बुद्ध एयरको ७२ सिट जहाजमार्फत गराइने कैलाश मानसरोवरको हवाई दर्शनको यो यात्राले नेपालगन्ज मात्र नभई पश्चिम नेपालकै पर्यटन विकासमा ठूलो टेवा पुर्याउने छ भन्ने विश्वास लिएका छौं’ अध्यक्ष सिग्देलले आशा र खुशी व्यक्त गर्दै भनेका छन्, ‘आशा छ यो अभियानलाई सबैले साथ दिएर दिगो बनाउनुहुनेछ ।’

यसले कर्णालीको पर्यटनलाई थप नयाँ उचाईमा लिनेछ । हवाई दृश्यबाट कर्णालीको सुन्दरता र रारा तथा फोक्सुन्डोको प्रचार पनि अब धेरै हुनेछ ।

प्रतिक्रिया