लामो खडेरीका कारण सल्यानमा हिउँदेबाली सुक्दै

लामो खडेरीका कारण सल्यानमा हिउँदेबाली सुक्दै

सल्यान : लामो खडेरीका कारण सल्यानमा हिउँदेबाली सुक्दै गएका छन् । गत असोजदेखि जिल्लाका कुनैपनि क्षेत्रमा वर्षा नहुँदा हिउँदेबाली सुक्दै गएका हुन् । ४ महिना हुदाँ समेत वर्षा नहुँदा गहुँ, जौँ, तोरी, तरकारी लगायतका हिउँदेबाली सुक्दै गएका हुन् । समयमै हिउँदे वर्षा नहुँदा हिउँदेबाली सुक्न लागेपछि कृषक चिन्तित भएका छन् । सिँचाइको सुविधा भएका क्षेत्रमा केही राहत मिलेपनि सिचाइँ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको हो ।

सिँचाइ नभएकै कारण खेतवारीमा लगाएको गहुँबाली सुक्न थालिसकेका छन् । खडेरीले गहुँबाली सुकेर बारी बाँझै हुने अवस्था आएको छत्रेवरीका स्थानिय नोखीराम खत्रीले बताउनुभयो । ‘माघको पहिलो साता बित्दा समेत यो वर्ष हिउँदे वर्षा भएको छैन्, बारीमा लगाएको गहुँबाली पसाउने बेला भएको छ, तर बर्षा नहुदाँ सुक्न थालेको छ’ उनले भने ‘गहुँ सुक्नथालेकाले यो बर्ष के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’

खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने आँकलन गरिएको छ । बर्षा नहुदाँ हिउँदेबालीका साथै फलफूलका बोटबिरूवा पनि सुक्दै गएका छन् । बेला–बेलामा यहाँ मौसम बदलिएको भए पनि वर्षा हुन सकेको छैन् । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने कालिमाटीका कृषक नेत्र वलीले बताए ।

‘जिल्लामा अधिकांश भिरालो ठाउँमा खेती हुँदै आइरहेको छ, आकासे पानीका भरमा खेती हुदै आइरहेको छ, यो वर्ष लामो खडेरी भयो, जसका कारण भिरालो जमिनमा हिउदेँ बाली निकै कम छ’ उहाँले भन्नुभयो ‘सिँचाइ नभएको क्षेत्रमा लगाएको बाली सुक्न थालिसकेको छ ।’ उहाँले जिल्लाका सबै क्षेत्रमा सिँचाइको सुविधा नहुदाँ हिउदेँखेतीका लागि आकाशे पानीको भरपर्नु परेको बताए ।

जिल्लामा बर्षेनी प्रदेश र स्थानिय तहले सिँचाइ कुलो निर्माणमा लगानी गर्दै आएका छन् । तर बर्षौ पुराना सिँचाइ योजनाको मर्मत नहुनु तथा पाखोबारीमा पनि लिफ्ट मार्फत सिँचाई सुविधा पुर्यान नसक्दा कयौँ खेतवारी बाँझै छन् । कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १४ हजार २ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ ।

जिल्लामा ४५ हजार ५ सय ६७ हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । सिंचाई सुविधा नहुँदा यहाँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । ७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिंचाई सुविधा रहेको छ ।-सल्यानटुडे

प्रतिक्रिया