आफ्नै भवनमा सल्यानको बागचौर नगरपालिका

आफ्नै भवनमा सल्यानको बागचौर नगरपालिका

सल्यान  : लामो समयदेखि भाडाको घरबाट सेवा दिँदै आएको सल्यानको बागचौर नगरपालिकाले आफ्नै पक्की भवनबाट सेवा प्रवाह थालेको छ । नगरपालिकाले वडा न २ बागचौरमा नयाँ भवन निर्माणसँगै सेवा थालेको हो । तीन करोड बढीको लागतमा नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरिएको हो ।

स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सेवाग्राहीलाई प्रत्यक्ष सरकारको अनुभूति हुने गरी सेवा प्रवाह गर्दै आइरहेको मेयर जनकराज गौतमले बताए । आफ्नै प्रशासकीय भवन बनेकाले अब सुशासन र सहज रुपमा सेवा प्रवाह हुनेमा आफू ढुक्क रहेको बताए । नगरवासीको हितलाई ध्यानमा राखेर नगरप्रमुखको हैसियतले आफू काममा लागि पर्ने र सबैलाई अनुभूत हुनेगरी काम गरेर देखाउने प्रतिवद्धता जनाए ।

आफ्नै भवनबाट अब सेवाग्राहीले एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त सरल सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको उपमेयर सुम्निमा डिसी वलीले बताए । नागरिकले नयाँ भवनबाट सबै सेवा पाउने र नगरको कामका लागि अन्य शाखाहरुमा धाउनु पर्ने र धेरै समय कुर्नुपर्ने समस्याको अन्य हुने समेत बताए ।

भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालिसँग ३ करोड २९ लाखमा सम्झौता गरेको थियो । २०७५ चैतमा भवन निर्माण सम्पन्न भएपनि लामो समय पछि नगरपालिका आफ्रनै भवनमा सरेको हो ।
कार्यक्रममा नगरपालिकाको भवन निर्माणका लागि जग्गा दान गर्ने ३३ जग्गादाता र २३ नगद चन्दादातालाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया