बाँफिकोटले संचालन गर्दै पालिका अस्पताल

बाँफिकोटले संचालन गर्दै  पालिका अस्पताल

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पालिका अस्पताल संचालनको तयारी थालेको छ । पालिकाको वडा नम्वर ४ छिनखेतमा पालिका अस्पताल संचालनको तयारी थालिएको हो । जिल्लाका अन्य पालिकामा अस्पतालहरु संचालनमा रहेको भएपनि बाँफिकोटमा भने पालिका अस्पताल छैन् । अव बाँफिकोटले पनि पालिका अस्पताल संचालन गरेमा जिल्लाका सबै पालिकामा अस्पताल हुने छन् ।

गाउँपालिकाले अस्पताल संचालनको लागि एक जना एमबीबीएस डाक्टर, ल्याव असिस्टेन्टको आवेदन माग गर्ने निर्णय गरेको छ । अस्पतालमा आवश्यक अन्य कर्मचारीहरु भने पालिकाका विभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीबाट व्यवस्थापन गरिने छ । हाललाई भाडाको घरमा अस्पताल संचालन गर्ने तयारी गरिएको गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले बताए ।

पालिका अस्पताल स्थापना भएमा बाँफिकोट गाउँपालिकावासीले गाउँपालिकामै एमबीबीएस डाक्टरबाट स्वास्थ्य सेवा पाउने छन् । त्यस्तै गाउँकार्यपालिकाको १३ औ बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिनका २५ जना आमालाई २५ हजारका दरले रकम वितरण गर्ने निर्णय भएको छ । वडा नम्वर १ मा २ जनालाई, २ मा ३ जनालाई, ३ मा २ जनालाई रकम सहयोग गरिने छ ।

त्यस्तै वडा नम्वर ४ मा ३ जनालाई, ५ मा २ जनालाई, ६ मा ३ जनालाई, ७ मा ३ जनालाई, ८ मा २ जनालाई, ९ मा ३ जनालाई र १० मा २ जना आमालाई रकम उपलव्ध गराउने निर्णय भएको हो । पालिका स्तरीय स्वास्थ्य बीमा संयोजन समिति पनि निर्माण भएको छ । गाउँपालिका अध्यक्ष जनककुमार बाठा संयोजक रहेको पालिका स्तरीय समिति निर्माण गरिएको हो ।

सदस्यहरुमा प्रकाश खत्री, विवेक बुढाथोकी, नरेन्द्र विष्ट, सुस्मिता केसी, जानकी मल्ल, लालबहादुर ओली र सदस्य सचिवमा ज्ञानबहादुर खड्का रहेका छन् ।

प्रतिक्रिया