तातोपानीका किसानलाई ६ हजार स्याउका बिरुवा वितरण

तातोपानीका किसानलाई  ६ हजार स्याउका बिरुवा वितरण

जुम्ला :  जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई स्याउका ६ हजार ५ सय बिरुवा वितरण गरेको छ। तातोपानी-१ राँका गाउँका स्याउ किसानलाई वितरण गरिएको हो ।

स्याउका बिरुवा रोप्ने समय नजिकिएसँगै तातोपानी गाउँपालिकाले किसानलाई स्याउका बिरुवा वितरण गरिएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख पदम नेपालीले बताए । प्रति किसानलाई १५ वटा बिरुवाका दरले वितरण गरिएको हो । जुम्ली रैथाने ‘डेलिसियस’ जातका बिरुवा वितरण गरिएको छ ।

बिरुवासँगै खेतीबारे ज्ञान तथा रोग किरा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइने कृषि शाखा प्रमुख नेपालीको भनाइ छ । जुम्ली किसानको मुख्य आयस्रोत स्याउ खेती हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले भने,तातोपानीमा स्याउ खेतीको सम्भावना राम्रो छ । स्याउ खेतीमा किसानको बढ्दो आकर्षण लाई मध्यनजर गरी अनुदान बिरुवा वितरण गरेका छौ । स्याउ खेती विस्तारमा पालिकाले थप सहयोग पनि गर्ने छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आफ्ना कार्यक्रमहरू अघि बढाएको उनले जनाए। तातोपानी-१ का वडाध्यक्ष कर्ण बहादुर कठायतले अनुदानमा पाएका बिरुवाबाट उत्कृष्ट कृषि कर्म गरेर देखाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया