तरकारी संकलन केन्द्र संचालनको तयारी

तरकारी संकलन केन्द्र संचालनको तयारी

रुकुम पश्चिम : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ५ बागबजारमा निर्माण भएको तरकारी संकलन केन्द्र संचालनको तयारी थालिएको छ । तरकारी संकलन केन्द्रको लागि भौतिक संरचना निर्माण भए पनि संकलन केन्द्र एक वर्ष देखि संचालनमा आउन सकेको छैन् ।

भौतिक संरचनाहरु निर्माण भएको करिव १ वर्ष पछि तरकारी संकलन केन्द्र संचालनको तयारी थालिएको हो । जसको लागि नगरपालिकाले समिति निर्माण गरेको छ । नगर उप–प्रमुख विमलकुमार पुनको संयोजकत्वमा तरकारी संकलन केन्द्र संचालन समिति निर्माण भएको हो ।

तरकारी संकलन केन्द्रसम्म पुग्ने सडकको स्तरोन्नती गरे लगत्तै संकलन केन्द्र संचालनमा आउने उप–प्रमुख पुनले बताए । उनका अनुसार सडक स्तरोन्नतीको लागि नगरपालिकाले २५ लाख वजेट विनियोजन गरेको छ । केही महिनामै सडक स्तरोन्नतीको काम सकिने र लगत्तै तरकारी संकलन केन्द्र संचालनमा आउने उप–प्रमुख पुनले बताए ।

तरकारी संकलन केन्द्रको भवन निर्माण, फिल्ड निर्माण र त्यहाँसम्म पुग्ने सडक तथा अन्य भौतिक संरचना निर्माण भइसकेका छन् । नगरपालिकाले तरकारी संकलन केन्द्र संचालनका लागि ५० लाख खर्चिएर भवन लगायतका संरचना निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण सुरु गरिएको संकलन केन्द्र बजेट अभावका कारण दुई वर्षसम्म निर्माण ठप्प भएको थियो ।

सुरुको वर्ष २२ लाख रकमले संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण देखि संकलन केन्द्र निर्माणको लागि जमिन सम्याउने काम भएको थियो । मुसीकोट नगरपालिकाको १२ लाख र कृषि विकास कार्यालयको १० लाख बजेटमा संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण र जमिन सम्याउने काम भएको जिल्लन कृषि विकास कार्यालयका निमिक्त प्रमुख मिनबहादुर केसीले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकामा प्राप्त थप ३० लाख बजेटबाट तरकारी संकलन केन्द्र भवनको निर्माणको काम पुरा गरिएको थियो । नगरपालिकाको २० लाख र सहरी शासकीय आयोजना अन्तर्गत कर्णाली प्रदेश मार्फत कृषि विकास कार्यालयमा आएको १० लाख बजेटले तरकारी संकलन केन्द्रको भवन निर्माण गरिएको थियो ।

जिल्लामा तरकारी संकलन केन्द्र नहूँदा कृषकले उत्पादन गरेको तरकारीले उचित वजार नपाएको किसानहरुको गुनासो छ । कृषकले उत्पादन तरकारी डोकोमा बोकेर डुलाउँदै बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम खंलगामा आउने तरकारी खरिद गरी संकलन केन्द्रबाट बिक्रि गर्ने नगरपालिकाको योजनाले हालसम्म मुर्त रुप लिन सकेको छैन् ।-कखरा

प्रतिक्रिया