व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी
सल्यान : आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नु भएका सल्यान बनगाड कुपिण्डे नगरपालिका १ आमखोलीका उमलाल कामी व्यावसायिक बङ्गुर पालनमा जमेका छन् ।
रोजगारीको सिलसिलामा आउने जाने गरी १२ वर्ष भारतको हिमाचलमा बिताउनु भएका कामीले अहिले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । सात वर्षअघि एक बङ्गुरबाट व्यवसाय थाल्नु भएका उनीसँग अहिले साना ठूलागरी ४४ बङ्गुर रहेका छन् । व्यावसायिक बङ्गुर पालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उनी उत्साहित छन् । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि भारतको हिमाचलमा गरेको दुःखलाई भुलाउने गरेको उनको भनाई छ । उनले भने घर परिवार चलाउन गाह्रो भएपछि भारत तिर लागे । भारतमा पनि कडा श्रम गर्दा पनि परिवार पाल्न धौ धौ भएपछि स्वदेशमा केही गर्ने सोचका साथ स्वदेश फर्किएर बङ्गुर पालनमा लागेको हुँ ।
बङ्गुरको बजारीकरण खासै समस्या नरहेको उनको भनाइ छ । कामीले फर्मबाटै पाठा पाठी पाँच हजार रुपैयाँसम्म बिक्री भइरहेको बताए । सबै खर्च कटाएर वार्षिक ५ देखि ७ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । मासुका लागि उत्पादन गरिएका ठुला बङ्गुरको बजारीकरणमा केही समस्या भएपनि साना पाठा पाठी बिक्रीका लागि भने कुनै समस्या नभएको उनको भनाई छ । व्यवसायलाई अझै बिस्तार र व्यवस्थित गर्ने सोचमा रहेको उनको भनाइ छ । फर्म नजिकै बजार भएकाले होटेलबाट निस्कने जुठोलाई पनि दानाको रुपमा प्रयोग गर्दै आएका छन् ।
आफ्नै लगानी र प्रयासबाट स्वरोजगार, घरपरिवार र समाजमा इज्जतका साथ बस्न पाउँदा सन्तुष्ट रहेको उमलालको श्रीमती जयन्ती कामीले बताए । बङ्गुरले वर्षमा चार पटकसम्म ब्याउँछ । एक पटकमा १० देखि १४ वटासम्म बच्चा जन्माउने भएकाले व्यवसाय बढाउन खासै समस्या हुँदैन ।-सल्यानखबर
प्रतिक्रिया