पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री निषेध

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री निषेध

काठमाडौँ – पाशुपत क्षेत्रलाई सफा राख्न ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा ल्याउन निषेध गरेको छ । कोषले बुधबार एक सूचना जारी गर्दै पशुपतिनाथको दर्शन तथा भ्रमण गर्दा प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गरेको हो ।

पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको हो । अभियानलाई सफल पार्न प्लास्टिक निषेध गरिएको कोषले जनाएको छ । अभियान अनुसार प्रत्येक शनिबार बिहान आठदेखि १० बजेसम्म मन्दिर क्षेत्र सरसफाइ हुने गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाई सफा र सुन्दर राख्न प्लाष्टिकजन्य सामग्रीका कारण बढी फोहोर देखिएकाले भक्तजन तथा दर्शनार्थीलाई नल्याउन अनुरोध गरेको छ । ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानलाई सफल बनाउन सबैलाई जुट्न विकास कोषले आग्रह गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्णय अनुसार सफाइ अभियान सुरु भएको हो । फागुन २५ गते ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान लागू गर्ने निर्णय भएको थियो ।प्रत्येक शनिबार बिहान ८ देखि १० बजेसम्म सफाइ अभियानलाई तीव्रता दिन सुरु भइसकेको छ । फागुन २७ गतेबाट सफाइ अभियानको कार्यक्रम अगाडि बढिसकेको विकास कोषले जनाएको छ ।

प्रतिक्रिया