छोराको शुल्क तिर्न तिलहरी बेच्न परेकोप्रति ध्यानाकर्षण

छोराको शुल्क तिर्न तिलहरी बेच्न परेकोप्रति ध्यानाकर्षण

 

बाँके – कोहोलपुर नगरपालिका-२ निवासी एक आमाले आफ्नो छोराको शुल्क तिर्न तिलहरी बेच्न परेको भन्ने समाचारप्रति शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गम्भीर ध्यानाकर्षण भएको भन्दै शनिवार प्रेस विज्ञप्ती जारी गरेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल शिक्षा अधिकारको क्षेत्रमा कृयाशिल ४६० भन्दा बढी नागरिक समाज संस्थाको साझा सञ्जाल हो ।

शुक्रवारदेखि सुरू भएको एसईई परीक्षामा सामेल हुन शुल्क नबुझाएको नाममा विद्यालयले उनको छोराको प्रवेशपत्र नदिए पछि तिलहरी बेचेर छोराको शुल्क तिरेको भन्ने प्रतिनिधि घटना मात्र हो यस्ता कयौं बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुनु परेकोले संविधान प्रदत्त अधिकार अनुसार निशुल्क शिक्षा कार्यान्वय गराउन विज्ञप्तीमा भनिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्दीय अध्यक्ष राजेन्द्र पहाडीद्वारा जारी विज्ञप्तीमा नेपालको संविधानले शिक्षा सम्वन्धी मौलिक हक, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन २०७५ समेतको प्रावधान बमोजिम निशुल्क शिक्षाको अधिकार सुनिश्चित गर्ने दायित्वमा स्थानीय तथा संघीय सरकार समेत जिम्मेवार तथा गम्भीर बन्न नसकेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

कुनै पनि बहानामा बालबालिकाहरूले शिक्षाको अधिकारबाछ वञ्चित हुने खालको अवस्था सृजना हुन नदिन शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय मानव अधिकार आयोग, स्थानीय सरकार तथा अधिकारवादी संघसस्थाहरू संचार माध्यमहरुले खवरदारी गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया